कांग्रेस विभाजन अन्तिम चरणमा पुगेको पूर्णबहादुर खड्काको निष्कर्ष

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेका छन्।

खड्काले सामाजिक सञ्जालमार्फत एकताको कुनै सार्थक प्रयास नभए पार्टी विभाजन हुने बताएका छन्। लोकतन्त्रको विषम परिस्थितिमा ठूलो पार्टी नेपाली कांग्रेस विभाजन हुनु मुलुककै लागि चिन्ताको विषय भएको उनको भनाइ छ।

उनले संस्थापन र इतर पक्ष दुवैले पन्ध्रौँ महाधिवेशन तोकेर समानान्तर गतिविधि गर्न नहुने बताएका छन्। पार्टी एकताका लागि दुवै पक्षले गम्भीर पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।

खड्काले पुनरावलोकनका लागि आफूले दायर गरेको रिट अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफू महाधिवेशनमा सहभागी हुन नसक्ने पनि बताएका छन्।

यस्तै, नेपाली कांग्रेस संस्थापन समूहको महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ। कांग्रेसले सानेपाबाट इतर समूहका सबै नेताहरूलाई समेटेर लैजाने भन्दै १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनमा समावेश गरिने भन्दै ढोका खुला गरेको थियो।

कांग्रेसको यस निर्णयसँगै देउवा समूहमा रहेका ७० प्रतिशत नेताहरू संस्थापन–गगन थापा समूहमा गइसकेको दाबी गरिएको छ।