डुटेर्टे हेग अदालतमा उपस्थित हुँदै

+
-

मानवताविरुद्धको अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को हिरासतमा रहनुभएका फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे एक वर्षभन्दा बढी समयपछि बुधबार पहिलोपटक अदालतमा सार्वजनिक रूपमा उपस्थित हुँदै हुनुहुन्छ । ८१ वर्षीय डुटेर्टेविरुद्धको मुद्दाको पूर्वसुनुवाइमा प्रमाण प्रकटीकरण र आगामी नोभेम्बरमा सुरु हुने मुख्य सुनुवाइको समयतालिकाबारे छलफल हुनेछ ।

आइसिसीका न्यायाधीशहरूले गत जनवरीमा चिकित्सा विज्ञको मूल्याङ्कनपछि डुटेर्टे मुद्दाको कार्यवाहीमा सहभागी हुन योग्य रहेको फैसला गरेका थिए । स्वास्थ्य समस्याका कारण उहाँ यसअघिका सुनुवाइमा सहभागी हुनुभएको थिएन । डुटेर्टेका प्रमुख कानूनी सल्लाहकार पिटर हेन्सले उहाँ अदालतमा उपस्थित हुन तयार रहेको बताउनुभएको छ ।

डुटेर्टेविरुद्धको आरोप उहाँ मेयर र पछि राष्ट्रपतिका रूपमा कार्यरत रहँदा सञ्चालन गरिएको भनिएको ‘लागुऔषधविरुद्धको युद्ध’ सँग सम्बन्धित छ । अभियोजन पक्षले प्रहरी तथा सरकारी संरक्षणमा परिचालित समूहहरूले उहाँको आदेशमा दर्जनौँ हत्या गरेको दाबी गरेको छ । डुटेर्टेले आरोप अस्वीकार गर्दै आउनुभएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीले उक्त अभियानमा छ हजारभन्दा बढी मानिस मारिएको जनाएको छ भने मानवअधिकार समूहहरूले मृतकको सङ्ख्या ३० हजारसम्म रहेको दाबी गरेका छन् ।

आइसिसीले सन् २०१८ देखि उक्त अभियानबारे अनुसन्धान गर्दै आएको छ । डुटेर्टेले त्यसै वर्ष फिलिपिन्सलाई आइसिसीबाट अलग गर्ने घोषणा गर्नुभएको थियो । गत वर्ष उहाँको कानूनी टोलीले देश अदालतबाट बाहिरिसकेको आधारमा मुद्दा खारेज गर्न माग गरे पनि न्यायाधीशहरूले त्यसलाई अस्वीकार गरेका थिए । अदालतले विचाराधीन अपराधमा न्यायबाट जोगिन रोम विधानबाट अलग हुने अधिकार प्रयोग गर्न नसकिने उल्लेख गरेको थियो ।

डुटेर्टेलाई मार्च २०२५ मा पक्राउ गरिएको थियो । स्वास्थ्य अवस्थाबारे मूल्याङ्कन गर्न समय दिइएपछि उहाँको अदालतमा उपस्थित हुने प्रक्रिया ढिलाइ भएको थियो ।

यसैबीच, आइसिसीले डुटेर्टेको नेतृत्वमा राष्ट्रिय प्रहरी प्रमुख रहनुभएका रोनाल्ड डेला रोसाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उहाँलाई पक्राउ गर्ने प्रयासका क्रममा गत मेमा फिलिपिन्सको सिनेटमा गोली चले पनि कसैलाई चोट लागेको थिएन । डेला रोसा त्यसयता सार्वजनिक रूपमा नदेखिनुभएको बताइएको छ ।

डुटेर्टेकी छोरी तथा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध पनि फिलिपिन्सको सिनेटले महाभियोग प्रक्रिया अघि बढाएको छ । उहाँमाथि अस्पष्ट स्रोतबाट सम्पत्ति जोडेको र राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको परिवारलाई धम्की दिएको आरोप छ । उहाँले ती आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

(रासस/एपी):—