काठमाडौं । दसैँ नजिकिँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूमा नयाँ तथा सुकिला नोट साट्न हुने भीडलाई व्यवस्थापन गर्न एटीएमबाट साना दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गरिएको छ।
यसअघि एटीएमबाट मुख्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था थियो। अब भने बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराएको व्यवस्थाअनुसार साना दरका नोटसमेत एटीएमबाट निकाल्न सकिने भएको हो।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दसैँलाई लक्षित गरी नयाँ नोट तथा सुकिला नोट वितरण गर्दै आएको छ। दसैँका बेला नयाँ नोट साट्न बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको चाप बढ्ने भएकाले त्यसलाई सहज बनाउन एटीएममार्फत नोट वितरण गर्ने व्यवस्था विस्तार गरिएको हो।
राष्ट्र बैंककी सहायक प्रवक्ता सुदास श्रेष्ठका अनुसार हालसम्म एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्ने व्यवस्था थियो। अब साना दरका नोटसमेत एटीएमबाट उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिइन्।


