भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ ।
यही भदौ १० गतेको बाढीपछि जलविद्युत् आयोजना केन्द्रित खोज तथा उद्धारमा खटिएको टोलीले थ्री ‘ए’ को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पुर्याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा भग्नावशेष हटाउने कार्य जारी राखेको छ ।
जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन् ।
खोज तथा उद्धारमा भइरहेको प्रगति, देखिएका चुनौती र गर्नुपर्ने आवश्यक सहजीकरणका सम्बन्धमा उद्धारमा खटिएका सुरक्षाफौजसँग जानकारी लिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिनुभएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
त्यस्तै, आयोजनाको निर्माणमा संलग्न दुई वटा कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि कार्यक्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।
आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने प्रमुख स्थानका रूपमा प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिएको थियो । ती संरचना पुरिएको नभई बाढीले बगाएर लगेको पाइएको उहाँले बताउनुभयो


