सुनसरी । बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।
दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ ।
पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो,
“नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ ।”
अहिले दैनिक तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उहाँले बताउनुभयो ।
करिब अढाई बिघामा गोलभेँडा खेती गर्नुभएको उहाँले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसम अनुसारका तरकारी खेती गर्नुभएको छ ।
मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइको उचित व्यवस्थापन हुन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
नेपाल फर्किएर कृषि सुरु गरेँ । अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ, उहाँले भन्नुभयो, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”
आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उहाँले बताउनुभयो । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु, बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु”, उहाँले भन्नुभयो ।
उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था छैन, चन्द्रवंशी बताउनुहुन्छ । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।
उहाँको खेतीमा वर्षभरि जालादारीमा १२ जनाभन्दा बढी कामदार छन् ।
भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो । “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु”, उहाँले भन्नुभयो ।
तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिघा क्षेत्रफलमा मकै खेतीसमेत गर्दै आउनुभएको छ । मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो । कृषिबाट भएको आम्दानीले उहाँले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गर्नुभएको छ ।
गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि । उहाँले भन्नुभयो, चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएको सप्तरीका राजकुमार भन्नुहुन्छ, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ । यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर रु ४०–५० हजार कमाए पनि आफैँलाई खर्च पु¥याउन गाह्रो हुन्छ । नेपालमा रु १५–२० हजार कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।


