भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचान र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।
“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो । कोडिस अन्तरराष्ट्रिय सफ्टवेयर हो ।
“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उहाँले भन्नुभयो, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तरराष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं ।”
डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ । प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको छ ।
“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उहाँले भन्नुभयो । डिएनए खर्चिलो र समय लाग्ने परीक्षण हो । त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको छ ।
मृतकको शव फेला पर्नेक्रम बढिरहेको र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको छ । सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउनुहुन्छ । “सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ ।
शव पहिचानमा प्रहरीका तीन उपाय
फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ । प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाउनुहुन्छ ।
हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ । “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ । यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ ।


