ललितपुर । जेन्जी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेन्जी स्मृति पार्कको उद्घाटन नगरी गृहमन्त्री सुदन गुरुङ फर्किएका छन्।
आज पार्कको उद्घाटन गृहमन्त्री गुरुङले गर्ने तयारी गरिएको थियो। तर पार्कमा निर्माण गरिएका शहीदका शालिकको अनुहार वास्तविक व्यक्तिसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन कार्यक्रम प्रभावित भएको हो।
शहीदका आफन्तहरूले शालिक निर्माण गर्दा ज्यान गुमाएका व्यक्तिको अनुहारसँग मेल खाने गरी निर्माण नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले शालिक निर्माणमा लापरवाही भएको आरोप लगाएका छन्।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ४५ जनाको स्मृतिमा पार्कमा शालिक निर्माण गरिएको हो।
परिवारजनको आपत्तिपछि गृहमन्त्री गुरुङले शालिक उद्घाटन नगरी कार्यक्रमस्थलबाट फर्किएका हुन्।


