भोटेकोशीमा आएको ‘हिमाली सुनामी’ले यतिबेला सिङ्गो मुलुकलाई शोकाकुल र स्तब्ध बनेको छ। नदीको भेलले बस्ती, घर, पुल, सडक र संरचना मात्रै बगाएको छैन मानिसका वर्षौँको पसिना, श्रम, सम्पत्ति, सपना र आफन्तसमेत बगाएको छ। कसैको घर उजाडिएको छ, कसैको परिवार अधुरो भएको छ, कसैको प्रियजन अझै बेपत्ता छन्। किनारमा उभिएर आफन्तको खोजी गरिरहेका आँखामा अहिले एउटै प्रश्न छ-‘मेरो मान्छे कहाँ छ ? ’
तर यही भयावह विपद्को बीचमा केही दृश्यले अर्को प्रश्न पनि जन्माएको छ(के भोटेकोशीको भेलसँगै हाम्रो मानवीयता र संवेदना पनि बग्दै गएको हो रु बाढीको उर्लंदो भेलमा वगेका शवको कपालमा तानेर सुनको सिक्री निकाल्ने दृश्य होस्, बाढीले बगाएर ल्याएका ग्यास सिलिण्डर, दाउरा वा अन्य सामान निकाल्न मानिसहरू दौडिएको घटना होस यी दृश्य केवल चोरी वा लुटपाटका घटना मात्र होइनन्। यी हाम्रो सामाजिक चरित्रमाथि उठेका गम्भीर प्रश्न हुन्।
लास कसैको सम्पत्ति होइन, कसैको प्रियजन हो। बाढीले बगाएर ल्याएको शवमा गहना देखेर आफ्नो भाग्य सम्झनु, बगाएर ल्याएके सामान देखेर आफ्नो अवसर ठान्नु र विपद्को क्षणलाई व्यक्तिगत लाभको मौकामा बदल्नु केवल कानुनी अपराधको विषय मात्र होइनस यो मानवीय विवेकको पतन पनि हो।
आज त्यो शव अपरिचित व्यक्तिको हुन सक्छ। भोलि त्यही शव तपाईंको बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा वा छोरीको हुन सक्छ। आज बाढीले ल्याएको सिलिण्डर अरूको घरको हुन सक्छ। भोलि तपाईंको घरको सामान कसैले त्यही शैलीमा उठाएर लगेको देख्नुपर्ला। त्यसैले विपद्मा एउटा कुरा कहिल्यै नबिर्सौँ- सम्पत्ति हराएपछि फेरि कमाउन सकिन्छ, तर मानवीयता हराएपछि समाजले आफूलाई नै गुमाउँछ।
विपद् आएपछि सहयोग गर्न मानिसहरू घटनास्थल पुग्नु स्वाभाविक हो। कसैले खाना पुर्याउँछ, कसैले औषधि, कसैले कपडा, कसैले उद्धारमा हातेमालो गर्छ। कसैले आफ्नो साधन दिन्छ, कसैले श्रम। यस्ता हरेक सहयोग सम्मानयोग्य छन्। तर विपद्को पीडालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने, उद्धार भइरहेको ठाउँमा भीड बढाउने, सुरक्षाकर्मी र उद्धारकर्मीलाई काम गर्न नदिने, क्यामेराको अगाडि देखिनकै लागि उद्धारको नाममा स्टन्ट गर्ने प्रवृत्ति भने सहयोग होइन। जहाँ उद्धारकर्मीलाई एक हात चाहिएको हुन्छ, त्यहाँ सेल्फी खिचेर अर्को हात थप्नुको कुनै अर्थ हुँदैन। विपद्को समयमा सामाजिक सञ्जालमा ‘म पनि यहाँ छु’ भनेर देखिनुभन्दा ‘मैले यहाँ के सहयोग गर्न सक्छु रु’ भनेर सोध्नु ठूलो कुरा हुन्छ । पीडितको आँसुमा आफ्नो प्रचार खोज्नु सेवा होइन।
शोकमा परेका परिवारसँग फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु संवेदना होइन। उद्धारको बीचमा आफ्नो राजनीतिक वा व्यक्तिगत ब्रान्ड चम्काउनु मानवीयता होइन। विपद्मा प्रचार होइन, उपस्थिति चाहिन्छ। उपस्थिति पनि त्यस्तो, जसले उद्धार सहज बनाओस्। विपद्को समय राजनीतिक शक्ति प्रदर्शन गर्ने समय होइन। यो जनताको दुःखमा राज्य, समाज र नेतृत्वको वास्तविक परीक्षा हुने समय हो। राम्रो काम भइरहेको छ भने त्यसलाई राम्रो भन्न सक्नुपर्छ। कमजोरी भइरहेको छ भने औँला ठड्याउन पनि सक्नुपर्छ। तर आलोचनाका नाममा उद्धारमा खटिएका मानिसहरूको मनोबल गिराउने, भ्रम फैलाउने वा विपद्लाई राजनीतिक लाभको हतियार बनाउने काम कुनै पनि जिम्मेवार नेतृत्वबाट हुनुहुँदैन। यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सम्बद्ध सांसदहरूलाई प्रभावित क्षेत्रमा पुगेर अनावश्यक झमेला नगर्न सुझाएको प्रसङ्ग पनि उल्लेखनीय छ। राजनीतिक दलका प्रतिनिधिहरूले विपद् क्षेत्रमा पुग्दा ‘हामी आयौँ’ भन्ने प्रदर्शनभन्दा ‘हामीले के गर्न सक्छौँ ?’ भन्ने व्यवहार देखाउन जरुरी छ।
नेता पुग्नु नराम्रो होइन। सांसद पुग्नु पनि नराम्रो होइन। राजनीतिक दलहरू उद्धार र राहतमा सहभागी हुनु झन् सकारात्मक कुरा हो। तर उनीहरूको उपस्थितिले उद्धारको काम सहज हुन्छ कि असहज ? पीडितलाई राहत हुन्छ कि थप भीड ? उद्धारकर्मीलाई सहयोग हुन्छ कि बाधा ? यही प्रश्नको उत्तरले विपद्मा राजनीतिक नेतृत्वको चरित्र निर्धारण गर्छ। हामी सबै उद्धारकर्मी बन्न सक्दैनौँ। सबैसँग हेलिकोप्टर हुँदैन, सबैसँग डोजर हुँदैन, सबैसँग चिकित्सकीय ज्ञान हुँदैन। तर सबैसँग मानवीयता र विवेक त हुन सक्छ। त्यसैले सक्नेले उद्धार गरौँ। सक्नेले खाना पुर्याऔँ। सक्नेले रक्तदान गरौँ। सक्नेले आर्थिक सहयोग गरौँ। सक्नेले बेपत्ताको खोजीमा सहयोग गरौँ। सक्नेले सूचना सही ठाउँमा पुर्याऔँ। तर केही गर्न सकिँदैन भने कम्तीमा उद्धार गरिरहेकालाई बाधा नपुर्याऔँ। फोटो खिच्नकै लागि भीड नबनाऔँ। भिडियो बनाएर पीडितको घाउ नकोट्याऔँ। अफवाह नफैलाऔँ। पीडितको निजी पीडा सार्वजनिक प्रदर्शनको सामग्री नबनाऔँ। बगेर आएको शव वा पीडितका सामानलाई आफ्नो सम्पत्ति नठानौँ। महिला बालबालिका ज्येष्ठ नागरीकका सवालमा संवेदनलि बनौं । सहयोग गर्न सक्दैनौँ भने बाटो छोडिदिनु पनि ठूलो सहयोग हो।
विपद्पछि शवहरूको खोजी, पहिचान र व्यवस्थापन अर्को ठूलो चुनौती बनेको छ। तर शव व्यवस्थापन केवल प्रशासनिक प्रक्रिया मात्र पनि होइन। त्यो कसैको जीवनको अन्तिम चिनो पनि हो। शव भेटिँदा त्यसको पहिचान, संरक्षण र सम्मानपूर्वक व्यवस्थापन राज्यको जिम्मेवारी हो। त्यहाँ पुगेका सर्वसाधारणको पनि कर्तव्य छ-शवसँग कुनै किसिमको दुर्व्यवहार नगर्ने, गहना वा सामान निकाल्ने प्रयास नगर्ने र परिवारको भावनाको सम्मान गर्ने। मृत शरीर बोल्न सक्दैन, तर त्यसको सम्मानले हाम्रो चरित्र बोल्छ।
आज बेवारिसे जस्तो देखिएको शवभित्र पनि कसैको संसार लुकेको हुन्छ। कसैको बुबा हुन सक्छ, कसैकी आमा, कसैको जीवनसाथी, कसैको सन्तान हुन सक्छ। त्यसैले शव भेट्दा लोभ होइन, श्रद्धा जाग्नुपर्छ।
बाढीपीडितलाई केही बोरा चामल, केही थान कपडा वा केही दिनको अस्थायी आश्रय दिएर मात्र पनि राज्यको दायित्व पूरा हुँदैन।त्यसको मतलकब यो गर्नेु पर्छ तर घर गुमाएकालाई घर चाहिन्छ। रोजगारी गुमाएकालाई रोजगारी चाहिन्छ। व्यवसाय गुमाएकालाई पुनः व्यवसाय सुरु गर्ने आधार चाहिन्छ। बालबालिकालाई विद्यालय फर्काउनुपर्छ। घाइतेलाई उपचार चाहिन्छ। आफन्त गुमाएकालाई मनोवैज्ञानिक,मनोसामाजिक तथा सामाजिक सहारा चाहिन्छ। अर्कोतर्फ राहत वितरणमा पनि अर्को विभेद हुनु हुँदैन। भोटेकोशी किनारमा रोइरहेको परिवारलाई पार्टीको चस्माले हेर्नुपनि हुन्न ।
घर गुमाएका नागरिकलाई ‘सरकार समर्थक कि विरोधी ?’ भनेर नसोधौँ पनि आफन्त खोजिरहेका परिवारलाई ‘तिम्रो राजनीतिक विचार के हो ?’ भनेर नसोधौँ पनि । विपद्मा नागरिकको परिचय उसको पार्टी होइन, उसको पीडा हो। राज्यको तयारी कमजोर भयो कि भएन ? उद्धार पर्याप्त भयो कि भएन ? राहत वितरणमा कमजोरी भयो कि भएन ? पूर्वसूचना प्रणाली प्रभावकारी थियो कि थिएन ? विपद् व्यवस्थापन संयन्त्र किन कमजोर देखियो ? यी सबै प्रश्नको जवाफ खोजिनैपर्छ। तर यी प्रश्नको जवाफ खोज्ने सही समय र तरिका पनि हुन्छ। उद्धार भइरहेका बेला उद्धारकर्मीको मनोबल गिराउने गरी गलफत्ती गर्नु समाधान होइन। राहत बाँडिरहेका मानिसलाई हतोत्साहित गर्नु समाधान होइन। सामाजिक सञ्जालमा आधा सत्य, अपुष्ट सूचना र अफवाह फैलाउनु त झन् अपराधजस्तै हो। गल्ती देखिए सच्याउन दबाब दिऔँ, तर राम्रो काम गरिरहेकालाई निरुत्साहित नगरौँ। सरकारले राम्रो गरिरहेको छ भने समर्थन गरौँ। कमजोरी छ भने प्रश्न गरौँ। गल्ती छ भने सुधार्न बाध्य पारौँ। तर विपद्लाई राजनीतिक गालीगलौजको अखडा नबनाऔँ।
भोटेकोशीको पिडाले हामीलाई एउटा पाठ सिकाएको छ प्रकृतिको अगाडि हाम्रो सत्ता, सम्पत्ति, पार्टी, पद र अहंकार कति कमजोर रहेछ भन्ने भोटेकोशीले देखाइदिएको छ। आज बाढीले कसैको घर हेरेर बगेन। कसैको राजनीतिक विचार सोधेन। कसैको बैंक ब्यालेन्स हेरेन। कसैको जात, वर्ग वा पद हेरेन। प्रकृतिको प्रकोप सबैका लागि एउटै थियो। त्यसैले विपद्पछि उभिँदा हामी पनि कम्तीमा केही समयका लागि सबै विभाजन बिर्सेर मानिस बनौँ। आज हामीले बचाउनुपर्ने केवल मानिसको ज्यान होइन-मानवीयता पनि हो।
भोटेकोशीको भेल रोक्न हाम्रो हातमा थिएन। तर भेलपछि मानवीयताको बाँध भत्किन नदिन हाम्रो हातमा अझै धेरै कुरा छन्। एउटा शव देख्दा लोभ होइन, श्रद्धा जागोस्। पीडित देख्दा सेल्फी होइन, सहयोगको भावना जागोस्। उद्धार भइरहेको देख्दा आलोचना होइन, आवश्यक सहयोग गर्ने विवेक जागोस्। नेता घटनास्थल पुग्दा प्रचार होइन, जिम्मेवारीको अनुभूति जागोस्। पत्रकार पुग्दा सनसनी होइन, सत्य र संवेदनशीलता प्राथमिकतामा परोस्। सामाजिक सञ्जाल चलाउँदा भ्युज होइन, पीडितको सम्मान पहिलो विषय बनोस्। किनकि विपद्मा हामीले अरूको घर मात्रै बचाउने होइन, आफ्नो समाजको चरित्र पनि बचाउने हो। भोटेकोशीको भेलले धेरै कुरा बगायो। अब कम्तीमा हाम्रो विवेक, हाम्रो संवेदना र हाम्रो मानवता नबगोस्। सक्छौँ भने सेवा गरौँ। सक्दैनौँ भने बाटो छोडिदिऔँ। तर पीडाको तमासे, शवको लुटेरा र विपद्को स्टन्टबाज नबनौँ। आज भोटेकोशीका किनारमा यही हाम्रो सबैभन्दा ठूलो मानवीय परीक्षा हो।


