रसुवा । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको शव नेपाली र भारतीय सुरक्षा तथा उद्धार टोलीले बाहिर निकालेको छ ।
नेपाली सेनाका प्रवक्ताका अनुसार सुरुङको करिब एक सय मिटर भित्रबाट दुई वटा शव निकालिएको हो । सुरुङभित्र अझै छ जना कर्मचारी फसेको हुनसक्ने अनुमान गरिएको आयोजनाका कार्यकारी प्रमुख बाबुराज महर्जनले जानकारी दिएका छन् ।
सुरुङभित्र उद्धार तथा शव निकाल्ने कार्य जोखिमपूर्ण र कठिन बनेपछि नेपाल सरकारले उद्धारमा सहयोग गर्न चीन र भारतका विज्ञ टोलीलाई आग्रह गरेको थियो । त्यसपछि भारतीय विशेषज्ञ टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँग समन्वय गर्दै उद्धार कार्यमा जुटेको हो ।
सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्था यकिन गर्न तथा सम्भावित जीवित व्यक्तिको उद्धारका लागि खोजी कार्यलाई थप तीव्र बनाइएको सुरक्षा स्रोतले जनाएको छ ।
उद्धारका क्रममा सुरुङभित्रको जोखिम, साँघुरो संरचना र भौतिक अवरोधका कारण टोलीले सावधानीपूर्वक काम गरिरहेको छ ।


