काठमाडौ । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बाढीपहिरोमा फेला परेका अधिकांश शवको अवस्था अत्यन्तै क्षतविक्षत रहेको पाइएकोले पहिचान हुन नसकेकाे बताएका छन् ।
उद्धारका क्रममा फेला परेका ८५ प्रतिशतभन्दा बढी शव सग्लो अवस्थामा नरहेको र कतिपय शवका हात, खुट्टा, करङ तथा शरीरका विभिन्न अंग छुट्टाछुट्टै अवस्थामा फेला परेको बताएको छ।
उनले सामासंजालमा लेख्दै ,`सग्लो अवस्थामा फेला परेका शवको पनि धेरैजसो पहिचान गर्न कठिन हुने अवस्था रहेको बताएका छन् । यस्तो अवस्थामा शवको पहिचानका लागि डीएनए परीक्षणलाई भरपर्दो वैज्ञानिक विधिका रूपमा प्रयोग गरिनेछ। फेला परेका शरीरका अंग तथा अवशेषबाट डीएनए नमुना संकलन गरी प्रत्येकलाई छुट्टाछुट्टै नम्बर दिइने र सुरक्षित रूपमा नेपाली सेना तथा नेपाल प्रहरीको परिसरमा राखिने व्यवस्था गरिएको छ।
पछि आफन्तहरू सम्पर्कमा आएर आवश्यक डीएनए नमुना उपलब्ध गराएपछि परीक्षणमार्फत शव वा शरीरका अवशेषसँग मिलान गरिनेछ। डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि सम्बन्धित परिवारलाई अवशेष हस्तान्तरण गरी धार्मिक संस्कारअनुसार काजक्रिया तथा अन्त्येष्टि गर्न दिने प्रक्रिया अपनाइने उनले बताएका छन् ।
शरीरको कुनै पनि अंग वा अवशेषमा रहेका कोषबाट डीएनए परीक्षण गर्न सकिने भएकाले क्षतविक्षत अवस्थामा फेला परेका शव तथा अवशेषको पहिचानमा पनि यो विधि उपयोगी हुने उनकाे भनाइ रहेको छ।


