रसुवा । रसुवास्थित भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना आएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीका अनुसार भोटेकोशीमा पानीको बहाव बढेको जानकारी प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको हो।
तर, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भने भोटेकोशीमा तत्काल ठूलो बाढी आउने जोखिम कम रहेको जनाएको छ। महाशाखाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई भने सतर्क रहन आग्रह गरेको छ।
यसअघि भदौ १० गते बुधबार ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। त्यस घटनापछि भोटेकोशी तथा आसपासका क्षेत्रका नागरिकमा बाढीको त्रास कायमै छ।
विभागले नदीको बहावमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। स्थानीय प्रशासनले पनि कुनै अप्रत्याशित अवस्था देखिए तत्काल सुरक्षित स्थानतर्फ जान र आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।


