त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौँ, १३ भदौः रसुवास्थित त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि-ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्वारका लागि ‘ड्रिलिङ’ गर्ने काम गरिँदै । टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली उद्वारका लागि परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय /रासस
अ+
अ
अ-

काठमाडौँ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ ।

सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही भदौ १० गते आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि शुक्रबारदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ ।

उक्त क्षेत्रमा ६२ सैनिकसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ । प्रभावित जिल्लामा करिब सात हजारभन्दा बढी सैनिक परिचालन गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत सामग्री वितरण तथा शव व्यवस्थापनको काम भइरहेको सेनाले जनाएको छ ।