रसुवा बाढीपीडितका लागि काभ्रे प्रशासनको अपिल : राहत रकम सरकारी कोषमा जम्मा गर्न आग्रह

jilla prasan kavre
अ+
अ
अ-

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि सहयोग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूलाई सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज सार्वजनिक सूचना जारी गर्दै बाढीपीडितका लागि आर्थिक सहयोग गर्न चाहनेहरूले सरकारको दैवी प्रकोप उद्धार कोषमा सिधै बैंक खातामार्फत वा क्यूआर कोडबाट रकम जम्मा गर्न सक्ने जनाएको हो।

त्यस्तै, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य जिन्सी सामग्री सहयोग गर्न चाहने काभ्रेपलाञ्चोकका नागरिक तथा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न सक्नेछन्। संकलित राहत सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी रसुवाका प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

राहत सामग्री संकलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककी प्रशासकीय अधिकृत सुनिता थापाको मोबाइल नम्बर ९७६५०३६८१६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको सूचनामा बाढी प्रभावितलाई सहयोग उपलब्ध गराउने भन्दै व्यक्तिगत वा संस्थागत बैंक खाता तथा क्यूआरमार्फत रकम संकलन नगर्नसमेत सचेत गराइएको छ।

यस्ता गतिविधि भएको जानकारी पाएमा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ वा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले विपद्को समयमा सहयोग रकम तथा राहत सामग्री वास्तविक प्रभावितसम्म सुरक्षित र पारदर्शी रूपमा पुर्‍याउन सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र सहयोग गर्न सबैलाई अनुरोध गरेको छ