काठमाडौं । चीनको स्वायत्त क्षेत्र तिब्बततर्फ छेचेन खोला र पुरेन नदीको संगममा बनेको ताल फुटेको सूचना प्राप्त भएपछि नेपालतर्फ त्रिशूली नदी आसपासमा बाढीको जोखिम बढेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको हो। ताल फुटेपछि नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई थप सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ।
चीनको तिब्बत क्षेत्रबाट बग्ने उक्त नदी नेपालतर्फ आएर त्रिशूली नदीमा मिसिने भएकाले त्यसको प्रत्यक्ष प्रभाव रसुवा तथा त्रिशूली नदी आसपासका क्षेत्रमा पर्छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन र उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।
चिनियाँ पक्षले तत्कालका लागि बाढीको जोखिम बढेकाले उद्धार तथा राहतसम्बन्धी गतिविधि केही समयका लागि रोकिएको जनाइएको छ। उद्धारमा संलग्न टोलीलाई समेत प्रभावित क्षेत्रभन्दा केही टाढा सुरक्षित स्थानमा रहन निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरा लगायतका सञ्चारमाध्यममा प्रकाशित विवरण तथा चिनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक भएका दृश्यहरूमा तिब्बत क्षेत्रमा बाढीको जोखिम बढेको देखाइएको छ।
यसैबीच, नेपाली सञ्चारमाध्यमहरूले प्राप्त सीसीटीभी फुटेज, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरण तथा विश्लेषण र सरकारी निकाय एवं रसुवाका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचनालाई आधार बनाएर बाढीको सम्भावित जोखिमबारे समाचार प्रकाशन गरिरहेका छन्।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट तथा त्रिशूली नदीको तटीय क्षेत्रका नागरिकलाई नदीको सतह र बहावमा हुने परिवर्तनबारे निरन्तर जानकारी लिन तथा जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।


