‘धन्न बाँचें’, आँखैअगाडि मोटरसाइकल बग्यो : शिक्षक खतिवडाको बाढी अनुभव

अ+
अ
अ-

नुवाकोट । नुवाकोट विदुरका आशुतोष खतिवडा पेशाले शिक्षक हुन्। उनलाई बाढीको पूर्वसूचना थियो। सामाजिक सञ्जाल र सरकारी तवरबाट आएको सूचनामा उनले ख्याल गरेका थिए। बुधबार उनी विद्यालय जान घरबाट हिँडे, तर अहिलेसम्म घर फर्कन पाएका छैनन्।

खतिवडाको घर विदुर नगरपालिका–प्लानिङमा पर्छ। घरबाट विद्यालय मोटरसाइकलमा करिब १५ मिनेटमा पुगिन्छ। त्यसैले उनी बिहान ९ बजे घरबाट हिँडेका थिए। उनको विद्यालय उत्तरगया माध्यमिक विद्यालय हो। आफू सचेत भएर पनि यत्रो ठूलो बाढी आउला भन्ने कल्पना नगरेको उनी बताउँछन्।

उनले भने, ‘म नौ बजे घरबाट हिँडें। बाटोमा एउटा खोला तर्नुपर्थ्यो। खोलामा पुल थियो। म खोला तर्न पुलको छेउमा पुगेको मात्रै के थिएँ, माथिबाट खोला उर्लिएर आयो। त्यो भयानक दृश्यमा मैले मोटरसाइकलको स्टार्ट रोक्न पनि भ्याइनँ। मेरो सवारी फर्काउने र उही बाटो फर्कने कल्पना गर्न सकिने अवस्था थिएन। यो मेरो जीवनको भयानक र कहालिलाग्दो घटना थियो। बाढी थियो। जहाँ म एक्लै थिएँ।’

त्यो भयानक दृश्यको विवरण सुनाउँदै उनी भावुक हुन्छन्, ‘धन्न बाँचें।’ उनले मोटरसाइकल त्यहीँ रोके। त्यहाँबाट एउटा लास हिँडाउने बाटो थियो, जहाँ घारी र काँडाहरू थिए। त्यही बाटो हुँदै माथि डाँडामा चढेर आफू बाँच्न सफल भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘मेरो आँखाअगाडि नै मोटरसाइकल बगायो।’ मोटरसाइकलको मायामा परेर मूर्खता गरेको भए आफूलाई पनि बाढीले बगाउने प्रबल सम्भावना रहेको खतिवडा बताउँछन्।

खतिवडा भन्छन्, ‘जब म सुरक्षित स्थानमा पुगें, त्यहाँबाट हेर्दा मेराे माेटरसाईकल त के ? सारा संसार सखाप भइसकेको थियो। साना खोलाहरूमा पनि पानीको बहाव बढेको थियो। सामाजिक सञ्जालमा डरलाग्दा दृश्यहरू छाइसकेका रहेछन्। मैले त्यहीँ एकपटक डेटाबाट फेसबुक चलाउन पाएँ। विद्यालयमा सम्पर्क गरें, कसैको पनि फोन लागिरहेको थिएन। घरमा फोन गरें, सबैजना सुरक्षित भएको खबर पाएँ र आफू पनि सुरक्षित भएको जानकारी गराउन सफल भएँ।’

उनी अहिलेसम्म घर फर्कन सकेका छैनन्। पुल भत्किएको छ, बाटोमा पहिरो गएको छ। आवतजावत गर्न कठिनाइ छ। त्रिशूली बजारमा ठूलो मानवीय र भौगोलिक क्षतिको आकलन गरिएको छ। हाल वास्तविक तथ्यांक सार्वजनिक गर्न सकिने कुनै आधार छैन। रसुवामा कति क्षति भएको छ भन्ने सरकारी आँकडा आउने क्रम जारी छ। नुवाकोटको वेत्रावती पनि बाढीले क्षतविक्षत भएको छ।

खतिवडा आफूले अध्यापन गराउने विद्यालयभन्दा केही टाढा आफन्तको घरमा बसिरहेका छन्। उक्त स्थान बाढीबाट सुरक्षित रहेको उनी बताउँछन्। उनका अनुसार, ‘अहिले त्रिशूली फर्कन सक्ने अवस्था छैन। गएराति परेको पानीले पनि पहिरो गएको छ। सडक अवरुद्ध छ। गोरेटो बाटोमा पनि ठाउँ–ठाउँमा पहिरो छ। त्रासदीपूर्ण वातावरण छ। बत्तीको लाइन अवरुद्ध छ। टेलिफोनको टावर छैन।’

सयौँको ज्यान गएको र अर्बौँको क्षति भएको राष्ट्रिय विपद्को बेला सानो सावधानीले आफू बाँच्न सफल भएको खतिवडाको भनाइ छ।