धुलिखेल अस्पतालको स्वास्थ्य टोली सामग्रीसहित नुवाकोट प्रस्थान

अ+
अ
अ-

काभ्रेपलान्चोक । धुलिखेल अस्पतालको स्वास्थ्य टोली आधारभूत आपतकालीन व्यवस्थापनका आवश्यक सामग्रीसहित नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको छ।
बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले डा. शैलेश, श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम तथा चालक राम वाग्लेसहितको टोली परिचालन गरेको हो।

टोलीले विदुर नगरपालिकाका स्वास्थ्य संयोजकसँग आवश्यक समन्वय गरिसकेको अस्पतालले जनाएको छ। यस्तै, नुवाकोटस्थित अस्पतालको थानसिङ आउटरीच सेन्टरका डा. अबिरल नेतृत्वको टोलीले पनि घटनास्थलमै आवश्यक सहयोग तथा समन्वय गर्नेछ।

स्थलगत टोलीबाट प्राप्त अवस्था र आवश्यकताको प्रतिवेदनका आधारमा थप स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिने धुलिखेल अस्पतालले जनाएको छ। विशेषगरी क्लिनिकल व्यवस्थापन तथा सम्भावित रोगको प्रकोप रोकथामलाई प्राथमिकतामा राखिनेछ।

यसैगरी, डा. पंकजको नेतृत्वमा रहेको फरेन्सिक मेडिसिन टोली पनि काठमाडौंमा आवश्यक सहयोगका लागि तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक विराजमान कर्माचार्यले आपतकालीन अवस्थामा प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य सेवा तथा सहयोग उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताएका छन्।