प्राकृतिक विपत्तिका कारण काठमाडौं विश्वविद्यालयका सबै परीक्षा स्थगित

अ+
अ
अ-

काठमाडौँ — प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौं विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गरेको छ।

काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण स्कुलहरूमा सञ्चालन भइरहेका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।

विश्वविद्यालयले आफ्ना सम्पूर्ण स्कुल तथा सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित परीक्षासमेत स्थगित गरिएको जनाएको छ।

स्थगित परीक्षाको नयाँ मिति तथा समयबारे विश्वविद्यालयले अर्को सूचना प्रकाशित गर्ने जनाएको छ। विश्वविद्यालयले सम्बन्धित सबै विद्यार्थी, शिक्षक तथा कलेजलाई सोहीअनुसार जानकारी लिन आग्रह गरेको छ।

यसअघि पनि प्राकृतिक विपत्तिका कारण नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको थियो।