भोटेकोशी बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण

अ+
अ
अ-

काठमाडौं। रसुवामा बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डले जारी गरेको ‘सिचुएसन अपडेट–२’ अनुसार विभिन्न पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको जानकारी आएको हो। उनीहरूको अवस्था र अवस्थिति यकिन गर्न पर्यटन बोर्ड, पर्यटक प्रहरी, ट्राभल एजेन्सी, स्थानीय प्रशासन तथा सुरक्षा निकायले समन्वय गरी विवरण प्रमाणीकरण गरिरहेका छन्।

पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन भनिएका यात्रुहरूमा सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना, लिफ होलिडेका ५५ जना, कैलाश जर्नीका ३१ जना, एक्सप्लोर भ्याकेसनका ७ जना, ट्रेकर्स सोसाइटीका ९२ जना, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७ जना, हिमालयन ग्लेसियरका ५२ जना तथा अल्पाइन इको ट्रेकका २० जना रहेका छन्।

प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट सम्पर्कविहीन ५९ जना विदेशीमध्ये ५९ जना भारतीय नागरिक रहेका छन् भने १२ जना नेपाली छन्। लिफ होलिडेका ४६ जना विदेशीमध्ये सबै भारतीय नागरिक रहेको बोर्डले जनाएको छ। फिसटेल टुर्स एन्ड ट्राभल्सबाट २० जना विदेशीमा ३ जना अमेरिकी र १७ जना मलेसियाली नागरिक रहेका छन्। अल्पाइन इको ट्रेकका १६ जना विदेशीमध्ये १२ जना बेलायती र ४ जना दक्षिण अफ्रिकी नागरिक छन्।

तर, केही कम्पनीमार्फत सम्पर्कविहीन भनिएका विदेशी नागरिकहरूको राष्ट्रियता अझै पुष्टि हुन बाँकी रहेको पर्यटन बोर्डले जनाएको छ।

पर्यटन बोर्डले प्रभावित क्षेत्रका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचनामा ध्यान दिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

आपत्कालीन सहयोगका लागि टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ। साथै नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।