तस्बिर सामाजिक संजाल
काठमाडौ । तिब्बतबाट रसुवातर्फ आएको बाढीका कारण ठूलो जनधनको क्षति हुन सक्ने आकलन गरिएको छ। बाढी रसुवा हुँदै धादिङसम्म आइपुगेपछि त्रिशूली नदी आसपासका बस्तीमा थप जोखिम बढेको छ।
बाढीका कारण सशस्त्र प्रहरी बलका नौ जनासहित २२ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको सुरक्षा निकायले जनाएको छ। रसुवाको लेन्द्रे खोलाबाट आएको बाढी धादिङको गजुरी क्षेत्रसम्म आइपुगेको बताइएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालय तथा मन्त्रिपरिषद्को निर्देशनअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तथा खोलाका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्वीरहरूमा बाढीले घर, होटल तथा प्रहरी चौकीलगायतका संरचनामा समेत क्षति पुर्याएको देखिएको छ। केही स्थानमा मानिसहरू प्रभावित भएको तथा मानवीय क्षतिको समेत आशंका गरिएको छ।
बाढीका कारण रसुवामा रहेको विद्युत् गृह र २२० केभी सबस्टेसनमा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको जनाइएको छ। यस्तै, बिओपी तिमुरेमा कार्यरत सशस्त्र प्रहरीका नौ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। नेपाली सेनाको मेडिकल टिमसहितको एआई–१७ हेलिकप्टर काठमाडौँबाट त्रिशूलीतर्फ उडेको र इमर्जेन्सी रेस्क्यु टिमसमेत परिचालन गरिएको सेनाका प्रवक्ताले जानकारी दिएका छन्।
स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले पनि आ–आफ्नो स्थानबाट उद्धार, खोजी तथा सावधानीका उपाय अपनाइरहेका छन्।
प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीको अवस्था अझै गम्भीर हुन सक्ने भएकाले सम्बन्धित जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


