नुवाकोट। त्रिशूली नदीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले नदी किनारमा नजान तथा नदीमा नपस्न जिल्लावासीलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज सूचना जारी गर्दै रसुवाको लेन्दे खोलाबाट ठूलो बाढी आउँदैछ भन्ने जानकारी प्राप्त भएकाले त्रिशूली नदी तथा नदी किनारका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रहरीले नागरिकलाई आफ्नो सुरक्षाप्रति संवेदनशील रहन, नदी किनारमा नजान तथा अनावश्यक जोखिम नलिन अनुरोध गरेको छ।
प्रहरी निमित्त प्रवक्ता तथा सूचना अधिकारी वीरबहादुर बुढाका अनुसार आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, प्रहरी कन्ट्रोल ११४, विपद् सहायता ११२४ तथा बाढी र वर्षासम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने छ।
प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेको छ।


