काठमाडौँ ।तिब्बतबाट आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवन भएर बग्ने नदीका तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सरकारले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा उद्धार र राहतका लागि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरेको जनाएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप सक्रिय बनाइएको छ।
सरकारले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमको अवस्था हेरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
त्यस्तै, बाढीबाट प्रभावित हुन सक्ने क्षेत्रको जोखिम अध्ययन गरी आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले आवश्यकताअनुसार प्रयोग गर्न सकिने सबै हेलिकप्टरलाई स्ट्यान्डबाई अवस्थामा राख्न निर्देशन दिएको छ।
सरकारले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न आग्रह गरेको छ।


