हेटौंडा । राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी तथा मजदुर संगठनको बन्द–हड्तालका कारण २०५७ सालदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा पुगेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै ४४८ मेसिनमध्ये २० वटा मर्मत सम्पन्न भएको र १० वटा मेसिनबाट उत्पादन परीक्षण सुरु भइसकेको जानकारी दिइन्।
असारको पहिलो सातादेखि नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक खटाएर उद्योगमा उत्पादन परीक्षण भइरहेको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँसमेत निकासा भइसकेको छ।
सञ्चालनमा रहेका १० मेसिनमध्ये तीन वटा लुमलाई स्वचालित प्रणालीमा रूपान्तरण गरिएको छ। प्राविधिक टोलीले प्रयोगविहीन मेसिन मर्मत, उत्पादन परीक्षण तथा उत्पादन प्रणालीलाई आधुनिक बनाउने काम गरिरहेको छ।
मन्त्री यादवले उद्योग सञ्चालनको काम सही दिशामा अघि बढिरहेको बताउँदै बिचौलिया तथा स्वार्थ समूह सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिन्।
उद्योगबाट साडी, कपडा लगायत नेपाली उपभोक्ताले प्रयोग गर्ने लत्ताकपडा उत्पादन हुदै आएको थियो । उद्योगका लागि आवश्यक मुख्य कच्चा पदार्थ कपास स्वदेशमै उत्पादन गर्न किसानलाई कपास खेतीतर्फ लाग्न मन्त्री यादवले आग्रह गरिन्।
उनले भनिन्, “किसानले उत्पादन गरेको कपास सरकारले किन्छ। उद्योगको कच्चा पदार्थ स्वदेशमै उत्पादन हुनुपर्छ, यसले रोजगारी सिर्जना गर्नुका साथै किसानको आम्दानी पनि बढाउँछ।”
मन्त्री यादवका अनुसार अघिल्लो सरकारले उद्योग सञ्चालनका लागि करिब ९ करोड रुपैयाँ खर्च गर्दा पनि उत्पादन हुन सकेको थिएन। अहिले करिब ३० लाख रुपैयाँमै २० वटा लुम मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको उनको दाबी छ।


