रुसको हवाई आक्रमणमा युक्रेनमा जनधनको ठूलो क्षति

+
-

रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको छ। शनिबार बिहान भएका छुट्टाछुट्टै आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यसअघि शुक्रबार मध्य युक्रेनको क्रिभी रिहस्थित एक व्यस्त सपिङ सेन्टरमा रुसी ड्रोनबाट भएको दोहोरो आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने १३० भन्दा बढी घाइते भएका थिए। घाइतेमध्ये बालबालिका पनि रहेका छन्। आक्रमणपछि नौ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणबाट सपिङ सेन्टरमा ठूलो क्षति पुगेको छ भने आगलागीसमेत भएको थियो। उद्धार तथा राहत कार्यमा जुटेका सुरक्षाकर्मीलाई समेत लक्षित गरी दोस्रो चरणको आक्रमण गरिएको युक्रेनी पक्षको दाबी छ।

यस्तै, शनिबार बिहान राजधानी किभमा ब्यालिस्टिक मिसाइलको चेतावनीपछि एउटा गोदाममा आगलागी भएको थियो भने जापोरिज्जियामा ड्रोन आक्रमणबाट थप एक जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रिभी रिहमा भएको आक्रमणलाई ‘अत्यन्तै निन्दनीय’ भन्दै रुसको कडा आलोचना गरेका छन्। उनले यस्तो आक्रमणलाई आतंकवादी कार्यको संज्ञा दिँदै युक्रेनले यसको जवाफ दिने बताएका छन्।