सम्बन्ध विच्छेदका मुद्दा उच्च

अ+
अ
अ-

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।

पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए । जसमध्ये १६७ मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दामा सम्बन्ध विच्छेद भएको पाँचथर जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिनुभयो ।

गत वर्ष सबैभन्दा बढी ७३ वर्षका श्रीमान र ५९ वर्षकी श्रीमतीबीच पनि सम्बन्ध विच्छेद भएको छ भने डेढ वर्षको बच्चा भएका बाबुआमा पनि दाम्पत्य सम्बन्ध टुङ्ग्याउन अदालत आएका छन । अघिल्लो वर्षभन्दा सम्बन्ध विच्छेदका नयाँ दर्ता र कूल मुद्दाको सङ्ख्या र प्रतिशतमा वृद्धि भएको छ । आव २०८१÷०८२ मा कूल मुद्दाको ५१ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेकामा गत आव २०८२÷०८३मा सो सङ्ख्या पाँच प्रतिशतले बढेर ५६ प्रतिशत पुगेको नेम्बाङले बताउनुभयो ।

वर्षेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा ठूलो समस्या सिर्जना गर्नेतर्फ सजग हुनुपर्ने सरोकारवालाको भनाइ छ । जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी नेम्बाङ सम्बन्ध विच्छेदका एक तिहाइ मुद्दा प्रकृया पूरा गर्न मात्रै दर्ता हुने गरेको बताउनुहुन्छ । “एक तिहाइ हाराहारी मुद्दामा अर्को विवाह गरिसकेकाले कागजी प्रमाण मिलाउन मात्रै अदालती प्रक्रियामा आएको देखिन्छ”, नेम्बाङले भन्नुभयो, “सम्बन्ध विच्छेदको बढ्दो क्रमप्रति समाजका सबै पक्षले चासो दिनु जरुरी छ ।”

अधिवक्ता जयप्रकाश केरुङ आफूले मुख्य रूपमा बालविवाह, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवन गर्ने लत, बेवास्तालगायतका कारण सम्बन्ध विच्छेद हुने गरेको पाइएको बताउनुहुन्छ । उहाँका अनुसार बालविवाह गरेका कतिपय दम्पत्ति उमेरले परिपक्व भएपछि एकअर्कासँग बस्न नसक्ने निश्कर्षमा पुग्ने गरेका छन् । यस्तै श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा भएपछि एक्लोपनका कारण अन्य ब्यक्तितर्फ आकर्षित हुँदा सम्बन्धमा दरार आउने गरेको भेटिएको र यसमा सामाजिक सञ्जालले मद्दत गरेको अधिवक्ता केरुङको भनाइ छ ।

यस्तै मदिरा सेवनको लतका कारण परिवारले सङ्कट भोग्नु पर्दा सम्बन्ध नटिकेको उहाँले बताउनुभयो । “मदिरा सेवनले आर्थिक अवस्था कमजोर हुनुका साथै परिवारमा माया प्रेम सकिँदै गएर सम्बन्ध नै समाप्त भएको पनि पाइन्छ”, उहाँले भन्नुभयो, “बेवास्ताका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ । समाजलाई परिवार विखण्डनको पीडाबारे बोध गराउन ढिलो भइसकेको छ ।”