बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने

(FILES) Britain's Prince Harry, Duke of Sussex, and his wife Meghan, Duchess of Sussex, react as Lagos State Governor, Babajide Sanwo-Olu (unseen), gives a speech at the State Governor House in Lagos on May 12, 2024 as they visit Nigeria as part of celebrations of Invictus Games anniversary. Prince Harry and his wife Meghan, who cut ties with the British royal family in 2020, are moving back to the United Kingdom, British press reported on August 19, 2026. In a surprise move, the youngest son of King Charles III and Meghan, "plan to leave the United States by the end of the month to settle in a private, non-royal residence, which is said to be located outside London," The Telegraph said. (Photo by Kola SULAIMON / AFP)
+
-

राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा हुनुहुन्छ । बेलायती सञ्चारमाध्यमका अनुसार दम्पतीले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाउनुभएको छ ।

द टेलिग्राफका अनुसार उहाँहरूले नयाँ घरसमेत छनोट गरिसक्नुभएको छ । बिबिसीसहितका सञ्चारमाध्यमले ह्यारी–मेघनका सात वर्षीय राजकुमार आर्ची र पाँच वर्षीया राजकुमारी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकिएको जनाएका छन् ।

ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बस्न थाल्नुभएको थियो । पारिवारिक विवादका बीच बेलायत छाडेका उहाँहरूको शाही परिवारसँगको दूरी ह्यारीको संस्मरण ‘स्पेयर’ तथा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि थप बढेको थियो ।

प्रेस एसोसिएसनका अनुसार राजा चार्ल्स तृतीयलाई दम्पतीले बेलायत फर्किएर बस्ने योजना बनाएको जानकारी दिइसकिएको छ । राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्नुहुने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन हुने छैन र उहाँहरूले राजपरिवारको आधिकारिक जिम्मेवारी सम्हाल्नुहुने छैन ।

बेलायतमा परिवारसहित फर्कन आफू सुरक्षित महसुस नगरेको ह्यारीले यसअघि बताउनुभएको थियो । सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानूनी विवादमा पराजित भएपछि उहाँले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन रहेको बताउनुभएको थियो । गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था आवश्यकताअनुसार कडा र उपयुक्त रहेको जनाएको छ ।

ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो । त्यस क्रममा उहाँहरूले राजा चार्ल्ससँग निजी भेट गर्नुभएको थियो । राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उपचार गराउँदै आउनुभएको छ ।

ह्यारीका दाजु तथा सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उहाँकी पत्नी क्याथरिनलाई दम्पतीको फर्किने योजनाबारे जानकारी दिइएको थियो वा थिएन भन्ने स्पष्ट छैन । ह्यारी र विलियमबीच लामो समयदेखि दूरी रहेको बताइन्छ ।

राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको सम्भावित पुनरागमनलाई ‘असाधारण विकास’ भन्नुभएको छ । उहाँले दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको छ । सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उहाँहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ ।

द सनका अनुसार दम्पतीले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित घर र पोर्चुगलको घर पनि कायम राख्नेछन् ।

यसैबीच, ह्यारीकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गर्नुभएको छ । पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुनेछ । जुलाईको सुरुआतमा ह्यारी, मेघन र उहाँहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर भ्रमण गरी डायनाको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गरेको बताइएको छ ।

रासस–––