अ+
अ
अ-
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले आज पनि प्रदर्शन जारी राखेका छन्।
प्रदर्शनकारीहरूले पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध गर्दै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
प्रदर्शनकारीहरूले बालिकाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।
यस घटनामा प्रहरीले बुधबार नै दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ। पक्राउ परेकामध्ये सुमन थापा नाम गरेका एक आरोपितले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
घटनालाई लिएर स्थानीयवासी आक्रोशित बनेपछि सडक अवरोधसहितको आन्दोलन निरन्तर जारी रहेको छ।


