सवारी चेकजाँचका क्रममा ८ चालकले लागू पदार्थ सेवन गरेको पुष्टि

अ+
अ
अ-

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय चिसापानी चेकपोस्टमा गरिएको सवारी चेकजाँचका क्रममा ८ जना चालकले लागू पदार्थ सेवन गरेको पाइएको छ।

बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय चिसापानी चेकपोस्ट र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले २५ वटा सवारी साधन तथा चालकको चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ८ जना चालकले लागू पदार्थ सेवन गरेको परीक्षणबाट देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रणका लागि चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।