तीन वर्षीया बालिकाको हत्या आरोपमा युवक पक्राउ,सिमरामा प्रदर्शन

+
-

काठमाडौ । जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सुकुम्बासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सुमन थापालाई पक्राउ गरेको छ।

जितपुरसिमरा-१, दशधुरेका थापालाई प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीका अनुसार थापाले बालिकामाथि बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।

बालिका बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको थियो। घटनापछि थापा प्रहरीसँगै बालिकाको खोजीमा हिँडेको समेत खुलेको प्रहरीले जनाएको छ। उनी वीरगन्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्।

प्रहरीले सोही भ्यानका चालकलाई पनि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको हत्याको विरोधमा स्थानीयले इलाका प्रहरी कार्यालय सिमराअगाडि तथा सडकमा प्रदर्शनसमेत गरेका छन्।