काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क–सम्बन्ध रहेको भन्दै कारागारमा रहेका व्यक्तिका आफन्तलाई प्रभावमा पारेर उनीहरूलाई मुद्दा मिलाइ छुटाइदिने आश्वासन दिने एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ४५ वर्षीय जितबहादुर घले रहेका छन्।
घलेले उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै कारागारमा थुनामा रहेका व्यक्तिका आफन्तलाई उनीहरूको मुद्दा मिलाइ छुटाइदिने भन्दै अनुचित प्रभावमा पार्ने तथा दुःख–हैरानी दिने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले उच्च पदस्थ व्यक्तिको नाम लिएर सर्वसाधारणलाई अनुचित प्रभावमा पार्ने तथा झुटा आश्वासन दिने गतिविधिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

