पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चकाे आदेश

+
-

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा प्रकाशक पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतले बोलाएको समयमा उपस्थित हुने गरी श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको हो।

जनआस्था साप्ताहिकमा प्रकाशित एक तस्बिरका विषयमा परेको उजुरीमाथि अनुसन्धानका लागि श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको थियो।

तर, प्रेस तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषयमा प्रेस काउन्सिल नेपालमार्फत उजुरी तथा छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने प्रेस आचारसंहितामा व्यवस्था रहेको भन्दै उनको पक्राउप्रति प्रश्न उठाइएको थियो।

श्रेष्ठको पक्राउलाई विभिन्न पत्रकार तथा सञ्चारसम्बन्धी संघ–संस्थाले गैरकानुनी भन्दै विरोध जनाएका थिए। नेपाल पत्रकार महासंघलगायतका संस्थाले विज्ञप्ति जारी गर्नुका साथै उनको रिहाइको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

यसैबीच, विभिन्न सञ्चारमाध्यमहरूले पनि पत्रकार श्रेष्ठको पक्राउको विषयलाई निरन्तर उठाउँदै आएका थिए। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै पत्रकार श्रेष्ठ रिहा हुने भएका छन्।