समाचार
रास्वपा काभ्रे २ काे चुनावी प्रतिबद्दता पत्र सार्वजनिक

फागुन ९ शनिबार ,२०८२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधि सभा सदस्य उम्मेदवार बदन कुमार भण्डारीले काभ्रे क्षेत्र नं. २ का मतदातासामु आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको वाचा–पत्रमा सुशासन, पारदर्शिता र विकासलाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख छ।
उम्मेदवार भण्डारीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सार्नु भएको हो । उहाँले युवाहरूका लागि ‘युथ स्टार्टअप फण्ड’ स्थापना, कृषि उत्पादनमा आधुनिकीकरण तथा स्थानीय उद्योग प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उहाँले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच बढाउने योजना प्रस्तुत गर्नु भएको हो । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा सुदृढ बनाउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने वाचा गरिएको छ।
पर्यटन विकासअन्तर्गत काभ्रेलाई ‘इको–टुरिज्म हब’ का रूपमा विकास गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने तथा आन्तरिक पर्यटन विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै सडक पूर्वाधार, खानेपानी, सिँचाइ र डिजिटल सेवाको विस्तारलाई पनि प्राथमिकता दिइएको छ।
भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र पारदर्शितामार्फत जनताको विश्वास जित्ने दाबी गर्नु भएको छ। “जनताको साथ र मत पाए काभ्रेको समग्र विकासका लागि परिणाममुखी काम गर्नेछु,” उहाँले बताउनु भयो ।

