समाचार
बनेपामा टिपरकाे ठक्करले एक पुरुषकाे मृत्यु

काभ्रे ।
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग खुलाइएको हो।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बा ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै टिपरमा आगजनी गरेका थिए। स्थिति नियन्त्रणका लागि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको जनाएको छ।
हाल स्थिति नियन्त्रणमा आएको र राजमार्ग सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।

