समाचार
काभ्रे–२ बाट रास्वपाका बदन कुमार भण्डारी प्रतिनिधि सभा निर्वाचनमा होमिँदै

२०८२ पुस २० आइतबार
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन कुमार भण्डारी आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
पुरानै पात्र, पुरानै शैली र असफल अभ्यासबाट आजित जनताको आवाजलाई सदनसम्म पुर्याउन नयाँ सोच, सफा नियत र जवाफदेही नेतृत्व आवश्यक रहेको भण्डारीले बताएका छन्। उनका अनुसार रास्वपा केवल विकल्प मात्र नभई आशा र परिवर्तनको जिम्मेवार नेतृत्व हो, जसले देशको राजनीतिमा नयाँ संस्कार स्थापित गर्ने लक्ष्य लिएको छ।
२०६१ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भण्डारीले आफ्नो स्थानबाट निरन्तर समाजको हितमा काम गर्दै आएका छन्। अन्यायविरुद्ध सधैं आवाज उठाउँदै परिवर्तनको पक्षमा उभिएका उनले आजसम्म असल नागरिकको भूमिका इमानदारीपूर्वक निर्वाह गरेको दाबी गरेका छन्।
भूकम्प, कोरोना महामारी, बाढी–पहिरोजस्ता राष्ट्रिय संकटका समयमा जनताको सेवामा अग्रपङ्तिमा रहेर काम गरेको अनुभव उनकाे छ। रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविर सञ्चालन, अवसरबाट वञ्चित वर्गलाई सहयोगदेखि युवा स्वरोजगार प्रवर्द्धनसम्म उनका सामाजिक गतिविधि फैलिएका छन्।
“अब समय आएको छ — परिवर्तनको, जिम्मेवारीको र परिणामको,” भन्दै भण्डारीले काभ्रे–२ का मतदातासँग नयाँ राजनीतिक अभ्यासका लागि साथ र विश्वास मागेका छन्।

