समाचार
नमोबुद्धका पूर्व नगरप्रमुख टीपी शर्मा स्कुटर दुर्घटनामा गम्भीर घाइते

श्रावण १०, शनिबार, २०८२
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टीपी शर्मा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ। घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन्।
दुर्घटना आज बिहान विपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ बुचाकाेच भन्ने स्थानमा भएको हो। काठमाडौंतर्फ गइरहेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले पूर्व नगरप्रमुख शर्मा सवार स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक दोलखा जिल्ला स्थायी ठेगाना भई हाल काभ्रे, रोशी गाउँपालिका बसोबास गर्दै आएका २६ वर्षीय निमा तेम्वा थोकर रहेका छन्। घाइते थोकरको उपचार मेथिनकोट अस्पतालमा भइरहेको जनाइएको छ।
यातायात दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

