समाचार
दीर्घकालीन रोगीका लागि औषधोपचार सेवा नविकरण गर्न भुम्लु गाउँपालिकाको सूचना

श्रावण ७, बुधबार, २०८२
काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिकाले दीर्घकालीन रोगबाट ग्रसित सेवाग्राहीहरूलाई औषधि उपचार खर्चसम्बन्धी सेवा नविकरण गर्नुपर्ने सूचना प्रकाशित गरेको छ।
२०७९ सालको निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकमा, गाउँपालिकाले डायलाइसिस, मृगौला प्रत्यारोपण, क्यान्सर तथा मेरुदण्ड पक्षघातजस्ता दीर्घकालीन तथा जटिल रोगहरूबाट पीडित सेवाग्राहीहरूलाई नियमित औषधोपचार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो।
आर्थिक वर्ष २०८२/८३ मा सेवा निरन्तरता दिन लाभग्राहीहरूले भदौ महिनाको मसान्तसम्म सम्बन्धित वडा कार्यालय वा पालिकाको स्वास्थ्य शाखामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
निवेदनमा अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, बालबालिकाको हकमा जन्म प्रमाणपत्र तथा संरक्षकको नागरिकता, अपांगताको हकमा अपांगता परिचयपत्र, र चिकित्सकको सिफारिस संलग्न गर्नुपर्ने छ।
यदि कुनै लाभग्राहीको औषधोपचार खर्च छुट भएमा, पुनः निवेदन दिएर सेवा प्राप्त गर्न सकिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
जटिल तथा दीर्घकालीन रोग भएका बिरामीहरूलाई पालिकाबाट दिइएको यस सेवाबाट विशेषगरी गरिब तथा विपन्न वर्ग लाभान्वित भएका छन्। थुप्रै परिवारले यस सेवाबाट स्वास्थ्य राहत पाएका छन्।


