समाचार
महिला सराेकार समुहमा गुन्जिए`भरत गुरागाँइ बर्बरिक´का कविता

असार १३ शुक्रबार ,२०८२
काभ्रेपलाञ्चोक । महिला सरोकार समूह बनेपाको आयोजनामा चर्चित कवि तथा वरिष्ठ रंगकर्मी भरत गुरागाई ‘बर्बरिक’को एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बनेपास्थित विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलको सभा हलमा आयोजित कार्यक्रममा कवि गुरागाईंले अभिनयसहित आफ्ना कविता वाचन गर्नुभएको थियो। उहाँले ‘मृत्यु होस् यस्तै’, ‘दशैँ कहिले आउँछ?’, ‘आमा र कैला गाई’, ‘नयाँ क्यालेन्डर’, ‘यादमा चाङहरू’ जस्ता शीर्षकका कविता प्रस्तुत गर्नुभयो।
नाटकीय शैलीमा प्रस्तुत कविताले विद्यार्थीहरूलाई निकै प्रभावित बनाएको थियो। बाल्यकालमै पितृवियोगको पीडा सँगाल्नुपरेको स्मरण गर्दै उहाँले बाबुआमाको माया र महत्वबारे बालबालिकालाई संवेदनशील बनाउनुभएको थियो। कार्यक्रममा दुई अन्य कविहरूले पनि गुरागाईंको कविता वाचनमा सहयोग पुर्याएका थिए।
कार्यक्रमका प्रमुख अतिथि ‘जनमत वाङ्मय प्रतिष्ठान’का अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवाल रहनुभएको थियो। महिला सरोकार समूहकी अध्यक्ष शारदा घिमिरे भैलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सपना कोइरालाले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।



