समाचार

‘अभ्युदय’ का साथ सुमन थापा सङ्गमको कवितायात्रा नयाँ मोडमा

२०८२ जेठ १०
काठमाडौ । कवि, गीतकार तथा नियात्राकार सुमन थापा सङ्गमको नयाँ कविता संग्रह अभ्युदय आज एक आत्मीय पारिवारिक समारोहबीच सार्वजनिक भएको छ। काठमाडौंको पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रम औपचारिक मञ्च र तामझामभन्दा टाढा रहँदै, कविका परिवारका चार पुस्ताको सहभागितामा सम्पन्न भयो।

कविता संग्रहको विमोचन स्वयम् कविले आफ्ना पूजनीय पिता विष्णुवीर थापा, छोरीहरू समिक्षा, प्रशंसा र क्रिशला, साथै नातिनातिनीहरू आरुण्या, आयाङ्श र आभ्यानासँग मिलेर गरिन्। तीन पुस्तालाई जोड्ने र चौथो पुस्तालाई साहित्यिक विरासतको संकेत दिने यस दृश्यले कार्यक्रमलाई विशेष बनायो।

कार्यक्रमको संयोजन र सञ्चालन कविले आफैं गरेकी थिइन्, भने स्वागत मन्तव्य छोरी समिक्षा केसीले दिएकी थिइन्। कार्यक्रममा कवितावाचन पनि गरिएको थियो, जहाँ कवि रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले अभ्युदय संग्रहमा समावेश आफ्ना रचनाहरू प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख समालोचक डा. शेखरकुमार श्रेष्ठले संग्रहमा प्रेमका विविध रूपहरू — पारिवारिक माया, मातृभूमिप्रतिको निष्ठा, जीवनप्रतिको सोच र प्रकृतिप्रतिको आत्मीयता — गहिरो रूपमा व्यक्त भएको बताएका थिए। उनका अनुसार कविताहरू सरल, प्रतीकात्मक र भावनाले भरिएका छन्।

५२ वटा कविताहरू समेटिएको अभ्युदय कवि थापाको तेस्रो कविता संग्रह हो। यसअघि उनका माइतीघरको फूल र प्रेमको आदिम गीत नामक संग्रहहरू प्रकाशित भइसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *