समाचार
वरिष्ठ संङ्गीतकार सि.के.रसाईली बारे

मंसिर,८ शनिबार , २०८१
काठमाडौ । नेपाली सङ्गीत क्षेत्रमा वरिष्ठ सङ्गीतकार सि.के. रसाईलीकाे नाम चर्चित रहेकाे छ। उहाँले संङ्गितकाे दुनियाँमा पुर्याउनु भएको याेगदानकाे ऋण दाेस्राे पुस्ताले कहिले पनि तिर्न सक्ने छैन। रसाइलीका कालजयी गीतहरु नेपाली संङ्गितकाे इतिहासमा सुरक्षित छन् ।
उनै सि.के. रसाईलीकाे बारेमा वरिष्ठ संङ्गगितकार टीका भण्डारीले केही तथ्यहरु लेख्नु भएको छ। उहाँका अनुसार,`सि. के. रसाईलीकाे पिताकाे नाम मानवीर सिंह रसाईली हो भने उहाँ माता चन्द्रमाया रसाईलीकाे सुपुत्र हुनुहुन्छ । उहाँकाे जन्म १९४१ मार्च १ तारिकमा पाकिस्तानको बल्युचिस्तान राज्यको कोयटा भन्ने शहरमा भएकाे थियो ।´
नेपाली मुलका रसाईलीका पिता मानवीर आर्मीमा सेवारत हुनुहुन्थ्यो । द्वितीय विश्वयुद्धताका उनका पिता भारतीय ब्रिटिस आर्मीमा कार्यरत थिए भन्ने कुरा भण्डारीले आफ्नो सामाजिक संजालमा लेख्नु भएको छ । `सि. के. रसाईलीका बुबा ,आमा दुवैजना सङ्गीतप्रेमी थिए । उनीहरूमा नेपाली संङ्गितकाे शाेख र प्रभाव थियो । त्यस समयमा पनि उनिहरु नेपाली पूर्बेली भाखाकाे गीत गाउने र नेपाली बाजागाजा बजाउने गर्थे । परिवारमा सांगीतिक वातावरण भएको कारण सि. के.मा पनि सङ्गीत प्रतिकाे रुचि बढदै गयाे । ´त्यसले उनमा नेपाली संङ्गितले गहिरो प्रभाव पारेको थियो भनी भण्डारीले स्विकार गर्नु भएको ।
उनका बुबा, सि.के.लाई आफू जस्तै आर्मि बनाउने सुरमा हुनुहुन्थ्यो । उनमा छाेरालाई आर्मी बनाउने शौख थियो । उनी छाेरा आफू जस्तै हाेस भन्ने चाहन्थे। तर छोरालाई पनि आर्मी बनाउने उनकाे चाहना पूरा हुन पाएन्। सि.के. सानै देखि गीत सङ्गीत तिरै नै बढी रमाउदै थिए। घरायसी वातावरणले नै उनलाई संङ्गितकाे पारखी बनायाे । संङ्गितकाे दुनियाँमा हेलिंदै ,हेलिंदै जाँदा उनी नेपाली संङ्गितकाे क्षेत्रका खम्बा सावित भए।
आर्मिकाे जागिर गरिरहेका मानवीरलाई दोस्रो विश्वयुद्ध पछि पाकिस्तानकाे कोयटाबाट भारत स्थित आसामको राजधानी सिलोङ पुर्याइयो। त्यतिबेला उनीहरुले आसामकाे सिलाेङमा नै घरजम गरेर बस्न थाले । सि.के. काे बाल्यकाल सिलाेङमा बित्याे ।
उनको साङ्गीतिक करियर अल ईन्डिया रेडियो गौहाटी सिलोङबाट सुरु भयो । उक्त स्टेसनबाट प्रसारण हुने नेपाली कार्यक्रममा उनीले गीत गाँउन थाले। ती कार्यक्रम दिल्ली रेडियो र रेडियो खर्साङबाट समेत प्रसारण हुन्थे। उनकाे सांङ्गितिक जग त्यहिबाट सुरु भयो । त्यहाँ उनले नेपाली गीत मात्रै गाएनन्। साथ साथै अन्य भाषा भाषीका गीत पनि गाँउने अवसरकाे सहि सदुपयोग उनले गरेका छन् । उनले आसामी, बङ्गाली, हिन्दी, भाषामा समेत गीतहरु गाएका थिए।
सि. के. काे नेपाल यात्रा राेचक र राजकीय छ। उनी वि.स. २०२२ मा नेपाल आएका हुन्। राजा महेन्द्रको ४४ औँ शुभजन्मोत्सवकाे उपलक्ष्यमा भाग लिन उनी नेपाल आएका थिए। दरवारबाट निम्ताे पाएपछि राजाको शुभजन्मोत्सव टोली लिएर उनि आसामको सिलोङबाट नेपाल हुन्। त्यहाँ उनले नेपाली सङ्गीत कला समितिको प्रतिनिधित्व गरेका थिए। साे कार्यक्रममा सि.के.ले पूर्वेली भाखामा `आमाको बिलौना´ गीत सुनाएका थिए।
त्यसपछि उनले २०२२ सालमा राजा महेन्द्रद्वारा लिखित `उसैका लागि´ पुस्तकबाट पनि एउटा गीत सङ्गीत गरे- साे गीत ‘दुखेको दिल टुटेको मन’ बोलको थियो ।
यसबीचमा रसाईलीले लखनउ सङ्गीत विश्व विद्यालयबाट शास्त्रीय गायनमा ‘बिम्युज’ गरे । उनले रेडियो नेपालमा एक दशक मेन्डोलिन, एकर्डियन, पियानो लगायतका वाद्यवादन प्रस्तुत गरेका छन् । त्यसो त उनले धेरै कलाकारलाई सङ्गीत सिकाएका छन् । उनका थुप्रै सङ्गीतका विद्यार्थी थिए। हाल नेपाली संङ्गीतमा स्थापित कलाकारहरु उनकै चेला पनि छन् ।
सि. के. बाट ज्ञान लिने कलाकारहरु थुप्रै छन्। त्यसमध्य प्रसिद्ध गायक उदितनारायण झा, रविन शर्मा, तारा थापा, रचना सिँह, मधु क्षेत्री, धिरज चाम्लिङ, शर्मिला बर्देवा जस्ता उत्कृष्ट गायक गायिकाहरु उनि प्रति ऋणी छन् । स्वरसम्राट नारायण गोपालले समेत उनका सिर्जना मन पराएर रेकर्ड थिए । नेपाली सङ्गीतका धेरैजसो पुराना स्रष्टाहरूले उनको सङ्गीतमा गित रेकर्ड गराएका छन्। ती गीत रेडियो नेपालमा रेकर्ड गरिएका हुन्।
उनकी अर्धाङ्गिनी दिलकुमारी हुन् । उनले दिलकुमारीसँग बिहे गरे। उनि सङ्गीतकी निकै राम्रो श्राेता हुन् । सि. के.काे गीतमा पहिलो श्राेता उनै हुन्थिन् । यो जोडीका दुई सन्तान छन् -एक छोरा एक छोरी छन । रोशन रसाईली र रेश्मा रसाईली दुवै सङ्गीतका निकै राम्रा कलाकार समेत हुन् । उनिहरुले बुबाकाे पथलाई पनि अंगिकार गरेका छन् । हाल उनिहरु दुबै जना अमेरिकामा छन् ।उनिहरु अमेरिकामै जागिरे जीवन बिताइरहेका छन् ।
(याे सामाग्री वरिष्ट संङ्गीतकार तथा गायक टीका भण्डारीकाे सामाजिक संजालबाट लिएर सम्पादन गरिएको हो। )




