समाचार
बागमती प्रदेशले सुरु गर्याे महिलालाई निशुल्क सवारी चालक तालिम

चैत ,३०
भक्तपुर । भक्तपुरमा महिलाहरुका लागि ड्राईभर (सवारी चालक) तालिम सुरु भएको छ । बिहिवारबाट सुरु भएको उक्त तालिम बागमती प्रदेश सरकारकाे श्रम, राेगार तथा यातायात मन्त्रालयले निशुल्क रुपमा संचालन गरेको हो।
महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार अन्तर्गतकाे कार्यक्रममा प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले तालिमकाे सुभारम्भ गर्नु भएको हो । महिलाकाे सीप विकास र अभिवृद्धिका लागि श्रम, रोजगार तथा यातायात मन्त्रालयले तालिम सञ्चालनमा ल्याएको हो ।
प्रदेश सरकारले यस वर्ष प्रदेश भरीका १ सय जना महिलाहरुलाई ड्राईभर (सवारी चालक) तालिम प्रदान गर्ने जनाएको छ। भक्तपुर स्थित तालिम केन्द्रमा सुरु भएको प्रशिक्षणमा काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप लगायत जिल्लाका महिलाहरुकाे सहभागीता रहेको छ। ती जिल्लाका विभिन्न स्थानीय तहका ४० जना महिला दिदीबहिनीहरु उक्त प्रशिक्षणमा सहभागि हुनु भएको छ। प्रशिक्षार्थीहरुले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगर्दासम्म तालिम प्रदान गरिने छ । तर कारणबश तालिम बीचैमा छोडेमा सम्बन्धित प्रशिक्षार्थीले तालिम लिएको दिनको शुल्क जरिवाना स्वरुप तिर्नुपर्ने छ ।
महिलाहरुलाई स्वराेजगार गराउन र सीप विकास गरि आत्मनिर्भर बनाउने उदेश्यले बागमती प्रदेश सरकारकाे श्रम ,राेजगार तथा यातायात मन्त्रालयले साे याेजना ल्याएको मन्त्री लम्सालले बताउनु भयाे । उहाँले भन्नू भयो , “धेरै भन्दा धेरै महिला दिदिबहिनीहरुलाई यातायातको क्षेत्रमा राेजगारी प्रदान गर्ने हाम्रो उदेश्य हो । याे वर्ष १ सय जनालाई तालिम दिने छौ। तालिमको सिलसिला चलिरहने छ। विभिन्न जिल्लाबाट सयौं महिला दिदीबहिनीहरुले सेवा लिने र स्वराेजगारमा लाग्ने विश्वास लिएका छौ” । महिलाहरुकाे सीप विकास र क्षमता अभिवृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाे मन्त्री लम्सालकाे भनाइ रहेको छ।


