समाचार
विश्व सामाजिक मञ्च २०२४ काठमाण्डौमा शुरूवात

फाल्गुन ४ शुक्रबार ,२०८०
काठमाडौ । “अर्को विश्व संभव छ” भन्ने नारा सहित आज नेपालको काठमाडौंमा विश्व सामाजिक मञ्च २०२४ को १६ औं संस्करणको एक भव्य समारोहको आयोजना गरि समुद्घाटन गरिएको छ । यस समारोहमा नेपाल लगायत विश्वभरका ९२ देशका नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको कुरा आयोजकले जनाएका छन् ।
फागुन ३ देखि ७ गतेसम्म नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विश्व सामाजिक मञ्च २०२४ मा ऐक्यवद्धता जनाउँदै आज राजधानिको भृकुटीमण्डपबाट निकालिएको शान्ती ¥यालीमा अपाङ्गता भएका व्यक्तिहरू सहित पिछडिएका वर्गहरूको हजारौंको संख्यामा सहभागिता रहेको । अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट सो र्यालीको नेतृत्व राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गरेको थियो जुन र्यालीको समापन भृकुटीमण्डपमा नै गरिएको थियो र त्यसपछि उद्घाटन समारोहको आयोजना गरिएको थियो ।
सो उद्घाटन समारोहमा अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाको तर्फबाट मुख्य वक्ताको रूपमा बोल्नुहुँदै नेशनल काउन्सिल अफ डिसेबल्ड वूमन बङ्गलादेशका अध्यक्ष नासिमा अख्तरले “अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवस्था गरिएका नितीहरूको कार्यान्वयनमा जोड दिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि लागिपर्न सबैमा आग्रह समेत गर्नुभयो ।”
विश्व सामाजिक मञ्च २०२४ मा सबैभन्दा पछाडि पारिएका वर्ग अर्थात अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य तथा सक्रिय रूपमा सहभागिता रहेको देखियो । जसमा अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्था तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने विभिन्न राष्ट्रिय तथा अपाङ्गताको क्षेत्रमा कार्यरत ह्याण्डिक्याप इन्टरनेशनल लगायतका विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले उल्लेख्य सहभागिता जनाएको देखिन्थ्यो ।
विश्व मानव समाज यतिवेला भेदभाव, असमानता, गरिबी, भोकमरी, द्वन्द्व, हिंसा, वातावरणीय क्षति, जलवायु संकट, प्रविधिको प्रयोग जस्ता विभिन्न समस्याबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा भेदभाव रहित, समानता तथा समतामूलक विश्वको परिकल्पना गरेर नै “अर्को विश्व संभव छ” भन्ने अवधारणा तथा अभियानको शुरूवात गरिएको हो ।
सन् २००१ मा ब्राजिलबाट सुरू भएर भारत, सेनेगल, ट्युनिसिया जस्ता देश हुँदै नेपालमा यसको १६ औं संस्करणको आयोजना गरिएको हो । यो अभियान असमान सामाजिक संरचनाका कारण निर्माण भएका उत्पीडित वर्ग तथा समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी, मजदुर, किसान, गरीब लगायतका समूहको पक्षमा बहस र छलफल गर्ने आन्दोलन हो ।
विश्व सामाजिक मञ्चका विशेषगरि १३ वटा थिम अर्थात वहस गर्ने सवालहरू रहेका छन् । जसमा “आर्थिक असमानता र आर्थिक न्याय”, “श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन”, “जात, काम र वंशजमा आधारित भेदभाव,जाति, जातीयता, आदिवासी, छुवाछुतर सबै प्रकारका भेदभाव”, “लिङ्ग, लैंङ्गिकता, लैंङ्गिक हिंसा र पहिचान“, “भूमि, कृषि, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोत”, “शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा”, “शिक्षा, कला र संस्कृति”, “सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता)”, “लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानुन र न्याय”, “स्वास्थ्य, सामाजिक संरक्षण र समानता”, “जलवायु, पर्यावरण, न्यायोचित रूपान्तरण,
वासस्थान र दिगो विकास”, “महिला, बालबालिका, युवा, वृद्धवृद्धा तथा अपाङ्गगता भएका व्यक्तिहरू”, “सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य” का सम्बन्धमा बृहत छलफल र बहस हुनेछन् ।



