समाचार

अपाङ्गता र समावेशी विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न

माघ,५ शुक्रबार ,भूमिकला पौडेल

काठमाडौं । नेपाल अपाङ्ग महिला संघको आयोजना तथा वुमेन काइन्ड वल्र्डवाइडको सहकार्यमा “अपाङ्गता र समावेशी विकास” सम्बन्धी अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । “लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” को मर्म अनुरूप अपाङ्गता भएका महिला तथा व्यक्तिहरूलाई हरेक योजना तथा कार्यक्रममा समेट्नु पर्छ भन्ने उद्धेश्यले सरकारी तथा नागरिक समाजका प्रतिनिधीहरूलाई सोही विषयमा ध्यानाकर्षण गर्नका लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।

“अवरोध हटाऔं, न्यायमा पहुँच वढाऔं” भन्ने नाराका साथ आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई समाज तथा राष्ट्रले अझै पनि दयामुखी सोचबाट हेर्ने गरेकोले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासका हरेक पक्षमा समावेशीकरण गर्न नसकेको औंल्याउनु हुँदै अबका दिनका लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणबाट हेर्न तथा सोही अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल अपाङ्ग महिला संघकी उपाध्यक्ष मिना पौडेलले महिला भित्र पनि विविधता रहेकोले यसलाई केवल महिलाको हिसाबले मात्रै नहेरेर अन्तरछेच्दिय दृष्टिकोणले हेर्नुपर्ने बताउँनुहुँदै अपाङ्गता भएका महिलाहरूलाई अगाडि वढाउनका लागि सबै पक्षमा उनीहरूको पहुँचयुक्तता तथा सहभागितामा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागि सरकारी तथा नागरिक समाजका प्रतिनिधीहरूले आफुले सेवा गरि रहेको निकायबाट अपाङ्गता भएका व्यक्तिहरूलाई के कस्तो सेवा सुविधा प्रदान गरिरहेको छ भन्ने विषयमा जानकारी गराउँनु हुँदै अबका दिनका पनि उनीहरूलाई आफ्ना योजना तथा कार्यक्रममा अझ बढि समेटदै लैजानका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *