ज्याेतिष र वास्तुशास्त्रीले बुझ्न पर्ने अस्थित्व व्यवस्थापन शास्त्रकाे महत्त्व

+
-

डि.पि.आत्रेय ( अस्थित्व व्यवस्थापन शास्त्री )

उखुको रस पिउनु स्वास्थ्यलाई राम्रो हो। तर दम, निमोनिया, पिनास, टाइफाइडको बिरामीले त्यो रस पिउदा भने उसको मृत्यु हुन सक्छ। जण्डिसको बिरामीले उखुको चिसो रस पिएमा जीवनदान पाउँदछ। तर घाम वा आगोमा तताएर खाएमा उल्टै सो बिरामीको मृत्यु हुन्छ। सलाद खानु राम्रो हो, तर ग्यास्ट्रीकको बिरामीलाई सलादले झन बिरामी बनाउँछ।

कपालभाती गर्नु राम्रो काम हो। तर पित्तको पीडितले कपालभाती गर्न थालेमा परमधाम गमन गर्ने एक्सप्रेस टिकट पाउँदछ। यसर्थ कुनै पनि विषयको विज्ञ बन्नका निम्ति तत शास्त्रको प्राथमिक प्रयोग, माध्यमिक प्रयोग र अन्तिम प्रयोगको विधिलाई निष्णात ढंगले प्रयोग गर्न जानेको हुनु पर्दछ। अन्यथा त्यस्तो व्यक्ती जतिसुकै ठूलो विद्वान, बुद्धिजीवी वा महापंडित नै किन नहोस, त्यस्तो व्यक्तिको ज्ञान, बुद्धि, उपाय र सम्बद्ध शास्त्र समेत व्यवहार र अभ्यासको कसौटीमा घातक, विनाशक र प्रत्युत्पादक हुन् वा बन्न पुग्दछ।

एउटा उक्तिमा भनिएको छ:
लोकाचार नजान्नाले, धेरै शास्त्र पढे पनि,
हुइन्छन नासिने त्यस्तै जस्तै ती मूर्ख पंडित।

यस्तो परख गर्ने अनुभवमा आधारित ज्ञानलाई त्रिसत्यको सिद्धान्त भनिन्छ। यसैलाई अर्को ढंगले भन्दा सत्य, विपरित सत्य र परम सत्य भनिन्छ। यी तीनवटैमा एउटा गजवको एकरुपता चाहिँ के हुन्छ भने यी तीनवटै supernatural हुन्छन। प्राथमिक सत्य “सत्य” हो भने माध्यमिक सत्य “शिव” र अन्तिम सत्य चाहिँ “सुन्दर” कहलाउँदछ। यसैलाई अंकशास्त्रले ३,६ र ९ भन्दछ। ३ इडा हो, ६ पिंगला र ९ सुषुम्णा। यी तीन नै त्रिदेव तथा इलेक्ट्रोन प्रोटोन र न्युट्रोन पनि हुन।

संसारभरका ज्योतिष र वास्तुका महापंडित विद्वानहरुले यो सत्यतालाई बुझ्न जरुरी छ कि वास्तुको ज्ञान भनेको असामान्य, उपयोगी र चमत्कारिक प्राविधिक ज्ञानको महासगर हो। यहाँहरु यो सत्यलाई बुझ्नुहोस कि यो शास्त्रलाई प्रत्येक व्यक्ती, भवन वा कुनै वास्तु सामाग्री उपर एकसमान लागू गर्न हुँदैन। जसरी एउटा व्यक्तिले ईश्वर प्राप्तार्थ गर्ने साधना अर्को व्यक्ती भन्दा पृथक हुन्छ, हुन सक्दछ; त्यसैगरी वास्तु सिद्धान्त र ज्ञानको प्रयोग पनि हरेक व्यक्ती उपर हरेक समयमा एकसमान लागू हुँदैन।

हरेक व्यक्तिको देश, काल, परिस्थिती, अवस्था, अलकेमी, चाहना, उद्धेश्य, भाग्य, साधना सामाग्री, भौगोलिकता, रुप, रंग, विचार, जलवायु, लक्ष्य , उद्धेश्य, जन्म समय आदि अलग अलग हुन्छ। यस्तोमा सबै उपर एउटै नियम र उपचार कसरी लागू गर्न मिल्दछ? उदाहरणार्थ: घरमा खाने खानालाई पूर्व तिर फर्केर पकाउनु पर्दछ भने होटलका निम्ति पकाइने खाना दक्षिणतिर र वायुको स्थानमा पकाउँदा चाहिँ पश्चिमतिर अनुहार फर्काएर पकाउनु पर्दछ। यसर्थ वास्तुशास्त्रले पूर्व फर्क भनेको छ भन्दैमा हरेक अवस्थामा पूर्वतिर फर्केर खाना बनाउनु पर्दछ भनेर बुझ्नु अज्ञान, धोका, बेइमानी, दोष र अपराध समेत हो।

रामनाम महासत्य हो, राम्रो कुरा हो। तर बेहुला अन्भाएर बेहुलीको घरतिर साइत वा पदार्पण गर्ने व्यक्तिका सामुमा गएर “राम नाम सत्य हो” भन्नू भयो भने तपाईले स्यावासी होइन कुटाई खानु हुनेछ। एउटै, उही हातका औंलाहरु आपसमा समान भएतापनि चोर औंला ठड्याए धम्की र खवरदारीको भाव, बुढीलाई ठड्याए समर्थन र अनुमोदन, कान्छीलाई ठड्याए पिसाव लागेको भाव र त्यसैगरी साहिँली र माझीले क्रमस: प्रेम र श्रद्धाभावलाई व्यक्त गर्दछन। एउटै हातमा पनि उत्तानो, घोप्टो, ढाडो, मुठ्ठी पार्दा भिन्ना भिन्नै भाव र अलकेमी प्रेषित हुन्छ।

तपाईको भाव र विचार अलकेमीमा, अलकेमी केमेष्ट्रीमा र केमेष्ट्री फिजिक्समा रुपान्तरण, दिशान्तरण, लक्ष्यान्तरण, परिवर्तन, समायोजन र व्यवस्थापन हुने गर्दछ।

यसर्थ झ्याल, ढोका, बाथरुम, भर्यांङ्ग, पूजा कोठा, शौचालय, बेडरुम, मिटिंग हल आदि यहाँ राख्न, बनाउन हुन्छ र त्यहाँ बनाउनहुन्न भनेर सिकाईने, पढाइने, बुझाइने नियम र सिद्धान्तहरु पूर्ण सत्य कुरा होइनन, अपूर्ण सत्य कुराहरु मात्र हुन। यिनलाई वास्तुशास्त्रको सामान्य नियमको रुपमा मात्र ग्रहण गर्नु पर्दछ। तर सामान्य नियमलाई सर्वदा असामान्य नियमले overrule गर्दछ भन्ने कुरा चाहिँ पटक्कै भुल्न हुँदैन।

वास्तुशास्त्रको सिद्धान्त मूलत: उर्जा र पन्चतत्व सन्तुलन, अलकेमी, सेवाग्राहीको समस्या वा जीवन उद्धेश्य तथा व्यष्टी र समष्टिको अन्तरसम्बन्ध सम्बन्धि सिद्धान्तमा आधारित हुन्छ। यस्ता कुरा भन्दा टाढा रहेका तथा भ्रम नै भ्रममा रुमल्लिएका वास्तुशास्त्र लगायतका विषय र गुढ गुम्फित शब्दजालमा विद्यावारिधी लगायत गरेर पनि के गर्नु? संसारमा स्थापत्य वेदको मूल भर्जन कसैसँग पनि छैन। वास्तु इंजिनियरिंग पढाउन चाहने विश्वविद्यालयका प्रतिनिधिलाई पनि मैले यहि प्रश्न सोधेर निरुत्तरित तुल्याएको ईतिहास साक्षी छ। त्यस्तो सत्र चिरा परेको ज्ञानले मानिसको जीवनमा रुपान्तरण गर्ने हो र? गर्दैन भने कहाँ छ संसारमा वास्तु ज्ञानको मूल श्रोत?

वास्तुशास्त्र वास्तवमा मानवका निम्ति आधारभूत रुपमै आवश्यक प्राविधिक एवम अकाट्य ज्ञानको भण्डार हो। तर यसलाई अनुभव सिद्ध खारिएको विज्ञले मात्र सटिक रुपमा लागू गर्न, गराउन सक्दछ। जीवनलाई काम नलाग्ने ज्ञान अज्ञान हो। आंसिक सत्य कुरा सामान्यत: पूर्ण असत्यभन्दा पनि घातक हुन सक्दछ। यहि आंशिक सत्यको फन्दामा जकडिनु परेको कारणले नै द्रोणाचार्य र भीष्म पितामह जस्ता अद्वितीय ज्ञानी र महावीरहरुको पनि प्राण गएको ईतिहास हाम्रा सामु प्रमाणका रुपमा उपस्थित छन।

युधिष्ठिरले “अश्वस्थामा त मर्यो, तर मानिस हो वा हाती” भन्ने अर्धसत्यलाई बोलिदिएर द्रोणाचार्यलाई मराएका थिए भने अर्जुनले न पुरुष न स्त्री भावको मानिस ( शिखण्डी) लाई सामुमा उभ्याएर भीष्म पितामहलाई confused पारेर मारेका थिए। त्यसै यी लोकोक्तिहरु आएका होईनन: अल्पविद्या भयंकरी (संस्कृतमा)” A little knowledge is a dangerous thing (अंग्रेजीमा) र आधा घैला पानी छचल्कन्छ (नेपालीमा)।