समाचार
परिवर्तनको मुख्य एजेण्डा माअोवादीको हो – नेता ढकाल

काभ्रे,
नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रत्न प्रसाद ढकालले मुलुक परिवर्तनको मुख्य एजेण्डा माओवादीको नै भएको बताउनुभएको छ।
बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले माओवादीका कारण नै आजको परिवर्तन सम्भव भएको बताउनुभयो।
विभिन्न कालखण्डमा कम्यूनिष्ट र कांग्रेसबीच कार्यगत एकता भएर नै ठूला परिवर्तनहरु भएका हुन र आज पनि प्रमुख एजेण्डाहरु कार्यान्वयन गर्न र जनताको जीवनस्तर परिवर्तन गर्नका लागि गठबन्धनको आवश्यकता रहेको उहाँको भनाई थियो।
पाँच वर्षको अवधिमा विकास निर्माणको के काम गर्नुभयो भन्ने पत्रकारहरूको प्रश्नको उत्तर दिँदै नेता ढकालले अघिल्लो सरकारले तीनवर्ष सम्म गर्न नसकेको विकास निर्माणका पूर्वाधारहरु गठबन्धनको सरकार बनेपछि पूरा भएको उहाँको जिकिर थियो।
उहाँले आगामी पाँच वर्षमा प्रत्येक वडाहरुको सडक स्तर उन्नती हुने र १३ वटै पालिकाहरुमा कालोपत्रे गरेर छोड्ने घोषणा गर्नुभएको छ। साथै शिक्षा ,स्वास्थ्य ,सञ्चार, यातायात, कृषि र पर्यटन लगायतका क्षेत्रहरुमा विशेष प्राथमिकता साथ विकासलाई अगाडि बढाइने पनि बताउनुभयो।

