टुकी न्युज विशेष

घटस्थापनाको शास्त्रिय विधि र यसको महत्व

अश्विन कौडिन्य (राधिका शरण)

            नेपाली हिन्दु धर्मावलम्बीहरूको महान चाड विजयादशमीको शुरुवातसँगै घटस्थापना सुरु भएको छ। घटस्थापनाको दिन सबैको घरघरमा माटोको घडा स्थापना गरी जमारा राख्ने चलन छ। जमारा राख्ने दिनलाई घटस्थापना भनिन्छ।

          नौ दिनसम्म निरन्तर गरिने देविको उपासना , घटस्थापना र जमरा राख्ने दिनको चर्चा गरौं ।
आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने घटस्थापनालाई शारदीय नवरात्र भनिन्छ। ‘ घट ‘ शब्दको अर्थ हो घडा र ‘स्थापना’ शब्दको अर्थ राख्नु हो । यसै दिनदेखि घडा स्थापना गरि दुर्गा भगवतीको उपासना गरिन्छ। आश्विन  शुक्ल प्रतिपदादेखि नै आध्यशक्ति नबदुर्गा भगवतीको उपासना सुरु हुन्छ ,प्रत्येक दिन देविको प्रसिद्ध नामको उच्चारण गर्दै पुजा अर्चना गर्ने गरिन्छ ।
यसरी पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रम्हचारिणी तेस्रो दिन चन्द्रघण्टेति चौथो दिन कुष्माण्डेति पाँचौ औं दिन स्कन्धमातेती छैठौं दिन कात्यायनी सातौं दिन कालरात्री आठौं दिन महागौरी नवौ दिन सिद्धिदात्रीको पुजा आराधना गर्ने प्रचलन रहेको छ।

           घटस्थापनाको दिन विधि पुर्वक दिप , कलश र गणेशको पुजन गरि नवरात्र सुरु गरिन्छ । घटस्थापनाको दिनदेखि नै नवरात्र आरम्भ हुन्छ भन्ने कुरा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। त्यसैले दुर्गा भगवतीको प्रिय वस्तु जौको जमरा राख्ने चलन छ ।

            घटस्थापना सुरु गर्दा प्रतिपदाको दिन स्नान गरि ,शुद्ध भई , नित्य कर्म समापन पश्चात नजिकको नदि अथवा चोखो ठाउको बालुवा वा माटो ल्याएर गाईको गोबरले पूजास्थल लिप्ने गरिन्छ। पोतेर शुद्ध बनाइएको पुजा कोठा अथवा दशै घरमा विधि पुर्वक जमारा राख्नुपर्छ ,साथै शास्त्रिय विधि अनुसार शोडसापचार पुजा सामाग्री तयार पारेर राखिन्छ।

          दिप ,कलश , गणेशको पुजासगै नदीबाट ल्याएको बालुवा अथवा माटोको सुन्दर वेदि बनाईन्छ र अष्टदल रङबली गरि त्यसमाथि टपरीमा धान राख्नु पर्छ।धान माथि विशेष प्रकारले सिङ्गगारिएको घडा स्थापना गर्नुपर्दछ । घडा माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पन्च रत्न , सर्बोसधी ,सप्तमृतिका, पन्चपल्लब, आँप ,चाप ,वर ,पिपलका पातहरु र दुवो आदि राखेर सोही कलसमा महाकाली ,महालक्ष्मी,महासरस्वतीको आव्हान गरी शोडसपचारले पुजा गर्नुपर्दछ।घडीमाथी भगवतीको प्रतिमा राखी पुजन गरिन्छ र यसरी पुजन पश्चात् भगवतीको प्रिय वस्तु जौ तेसै घडीको वरिपरि छर्ने गरिन्छ।

              यसरी प्रतिपदाको दिन राखिएको जमरालाई विजया दशमीको दिन दानवको नास गरेर विजय प्रात गरेको दिन सो जमारा प्रसादस्वरूप भगवतीलाई अर्पण गरी मानिसहरुले आफ्ना मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्ने गरिन्छ।

              नवदुर्गा पूजामा नवरात्रको समयमा कुबिन्डो अथवा खिचडीको बलि दिने चलन छ यसरी दुर्गादेवीको उपासना गर्नाले ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितय ‘ जुन जुन कामनाले भगवतीको उपासना गरिन्छ ,त्यही कुरा भगवतीको प्रसाद स्वरुप प्राप्त हुन्छ भन्ने कुरा भगवती स्तोत्रमा उल्लेख गरिएको पाइन्छ।

                विजयादशमीमा प्रयोग हुने टिका र जमाराको महत्वलाई बुझेर वैज्ञानिकहरुले पनि औषधिको रूपमा प्रयोग गर्ने गरेको उदाहरणहरू पाइन्छ।

             अन्त्यमा आउँदै गरेको विजयादशमी तथा शुभ दिपावलिको शुभ-अवसरमा टुकी नेटवर्क पढ्नु हुने सम्पूर्ण डिजिटल अनलाइन प्रेमीहरू प्रति र देश बिदेशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *