समाचार
काभ्रेमा बृहत खानेपानी आयोजनाको ठेक्का बोलपत्र आह्वान

टुकी संवाददाता
काभ्रे / बागमती प्रदेश सरकारको ‘खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय’ अन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा बृहत खानेपानी आयोजनाको ठेक्का बोलपत्र आव्हान भएको छ।
नेकपा ( एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव लक्ष्मण लम्सालको पहलमा खानेपानी आयोजनाको लागि २५करोड रुपैयाँबराबरको बोलपत्र आह्वान भएको हो।
काभ्रे र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको खानेपानी उर्जा तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोकले काभ्रेको मन्डनदेउपुर नगरपालिका अन्तर्गत नाल्दुम- नगरकोट खानेपानी आयोजनाको लागि १६करोड ५७ लाख , इन्द्रावती -कोलाचौर आयोजनाको लागि ४करोड ३६लाख , भुम्लु बृहत खानेपानी आयोजनाको लागि ४करोड ३५लाख बराबरको बजेट विनियोजन भएको जनाएको छ।
सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र दरखास्त बुझाउन पर्ने छ। काम गर्न इच्छुक इजाजत प्राप्त कम्पनीले प्रकिया पुर्याइ दरखास्त दिनु पर्ने खानेपानी ऊर्जा तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकबहादुर चौलागाईले जानकारी दिनुभयो।
यस्तै नेता लम्सालको पहलमा भुम्लुमा दुई वर्षअगाडि सुरुभएको भिमसेनथान खानेपानी आयोजना र खहरे खोला कोलाँति खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। आउने दशै सम्ममा उपभोक्ताको घरघरमा खानेपानी पुग्ने बताइएको छ।


