समाचार
कलम सधै तिखो बनोस् शुभकामना छ – मुख्य मन्त्री पाण्डे

टुकी संवाददाता
काठमाडौं / नेकपा एकीकृत समाजवादी नेता तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई जागरुक र क्रियाशील भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ।
समाजवादी प्रेस सङ्गठन बाग्मती प्रदेश तथा उपत्यकाको संयुक्त भेलामा सम्बोधन गर्दै नेता पाण्डेले कलम चिन्ह भएको पार्टीका सञ्चारकर्मीहरुले कलमको महत्व बुझेर पेशालाई व्यवसायिक र आधुनिक बनाउनुपर्ने बताउनुभएको हो।
उहाँले समाजवादी प्रेस सङ्गठन इमान्दार र कर्तव्यनिष्ठा पत्रकारहरूको संगठन भएकाले आकारमा सानो भएपनि विचारमा ठूलो उद्देश्य रहेको बताउनुभयो। उहाँको भनाइ थियो “आगामी दिनमा पत्रकारहरुले निराश हुनुपर्ने छैन । बाग्मती प्रदेशले संचार जगतलाई प्रोत्साहन गर्नका लागि रेडियो,टि .भि .र पत्र पत्रिका नविकरण शुल्क छुट गराएका छौ। संचार माध्यम र पत्रकारहरूको हक हितलाई ध्यानमा राख्दै अहिले सञ्चार रजिष्टार कार्यालयको स्थापना भएको छ। बागमती प्रदेशको साझा संचार संस्था सञ्चारग्राम बनाउने व्यवस्था पनि गरेका छौं “। अन्य पत्रकार संगठनहरु जस्तै समाजवादी प्रेस संगठनलाई पनि प्रदेश सरकारको तर्फबाट वार्षिक १० लाख रुपैया सहयोग प्रदान गर्ने व्यवस्था गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो।
विज्ञापन नियमन तथा अनुगमन समितिमा समाजवादी प्रेस संगठनबाट कालिका शिवाकोटी, राजन दाहाल, प्रेम गौतम,भोला खकुरेललाई सिफारिस गरिएकोमा यस कार्यले बागमती प्रदेशको तर्फबाट समाजवादी प्रेस सङ्गठनको हैसियत बढेको भन्दै खुसी व्यक्त गर्नुभएको छ।
समाजवादी प्रेस संगठन अरु संगठनहरुलाई भन्दा फरक धारमा काम गरोस् भन्ने उहाँको आग्रह थियो। सञ्चारकर्मीले भ्रष्टाचारलाई कहिलेपनि ढाकछोप नगर्नु , समाजवादी पार्टीका साथीहरुले भ्रष्टाचार गरेका रहेछन् भने पनि जनतासामु ल्याइदिनु पनि विशेष अनुरोध गर्नुभयो।
अन्याय-अत्याचार , मिटरब्याजी, बोक्सी प्रथा लगायत छाउपडी आदिका विषयमा कलम तिखो बन्दै जाओस् भन्दै नवगठित समितिका पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

