समाचार
विद्यालयका शिक्षकहरु विद्यार्थीको मार्गदर्शक हुन-डा.भोला थापा

काभ्रे, असोज ३
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यालयका शिक्षकहरु प्रति आदर र सम्मान रहेको बताउनु भएको छ। क्षितिज इङ्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर थापाले विद्यालयका शिक्षकहरु दूरदर्शी हुने बताउनुभयो।
उहाँले भन्नुभयो -“विद्यालयको पढाइ सकेपछि कुन बिषयमा अध्ययन गर्ने भनी विद्यार्थीहरु यकिन भएर आउछन र सम्बन्धित विषयको अध्ययन ,अध्यापन गराउने काम हाम्रो हो। त्योभन्दा पहिला नै विद्यालयमा शिक्षकहरुले उनीहरुलाई आफ्नो भविष्यको बाटो निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको हुन्छ।” त्यसैले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पहिलो खुड्किलो भनेको माध्यमिक तहका शिक्षकहरु नै हुन ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा भएको अतिरिक्त क्रियाकलाप देखेर खुशी लागेको बताउनु हुँदै डाक्टर थापाले विद्यार्थीहरुलाई भौतिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षामा जोड दिएकोमा शिक्षक- शिक्षिकाहरुलाई धन्यवाद दिनुभएको थियो।
यस्तै बनेपा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिबराज त्रिपाठीले प्रयोगात्मक शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो । अबका वर्षहरुमा भविष्यका कर्णधार मानिएका छात्र छात्रालाई सैद्धान्तिक ज्ञानले मात्र काम नगर्ने भन्दै प्रयोगात्मक शिक्षाको महत्वलाई बुझी परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो।
कार्यक्रममा कक्षा ६ देखि कक्षा १०सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकी ,नृत्य तथा गीत-संगीत प्रस्तुत गरेका थिए। सोही समारोहमा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा एइई परीक्षामा उत्तीर्ण भएका हरुलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यालय संचालक समितिको तर्फबाट विद्यालयका उत्कृष्ट कर्मचारी, र शिक्षकहरुलाई सम्मान पनि गरिएको छ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक प्रतिनिधि, अभिभावक प्रतिनिधि तथा विद्यार्थीको प्रतिनिधित्व गर्दै फरक-फरक व्यक्तिले आफ्नो धारणा व्यक्त गरेका थिए,र विद्यालयको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए।
