समाचार
सोती घटनाका पीडित परिवारलाई राष्ट्रिय कलाकार समुहद्वारा संकलित पाँच लाख रकम हस्तान्तरण गर्दै मदनकृष्ण श्रेष्ठले भने– दलित शब्द शब्दकोषबाट हटाउनुपर्छ

काठमाडौ, १४ साउन । रुकुम सोती घटनाका मृतकका परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई सहयोग रहम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम नगरपालिकाले सोती घटनाका छ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले रुकुममा घटेको घटनाले आफु स्तब्ध भएको बताउँदै ‘दलित’ शब्द शब्दकोषबाट हटाउनुपर्नेमा जोड दिए । श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाए सम्म मानिसहरुको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’ घटनालाई अप्रीय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे । रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठुलो कारण भएको उनको तर्क थियो । पिडीत परिवारमा भुकम्प, बाढी पहिरो एकै पटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराए पछि राज्यको चौथो अंग पत्रकारिता मात्र न्यायको आशा गरिने स्थान भएको समेत औल्याए ।

कार्यक्रममा पूर्वमन्त्री जितु गौतमले सोती घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अदालतले गरेको फैसलाप्रति समेत आपत्ती जनाए । उनले न्यायालय शंकाको घेरामा रहेको तर्क गरे । कलाकार समुहले गरेको सहयोग हस्तातरण कार्य अति नै विवेकशिल भएको बताए । उनले भने, ‘नवराजकी प्रेमिकाको आमालाई एक लाख धरौटीमा छाड्दा न्यायालयमाथी आपत्ती मैले जनाउँदा न्यायालयमा प्रश्न गर्न नहुने तर्क दिएका साथीहरुले चोलेन्द्र शमसेरले सर्वस्व सहित जन्मकैद तोकेका रञ्जन कोइरालालाई जेल मुक्त गरिदिंदा अहिले सर्वत्र आलोचना गरिहेका छन् । न्यायालय पनि शंकाको घेरामा रहेको छ ।’
भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । संविधान र कानुनमा भएका जातिय अधिकारको विषयहरु हुबहु लागु गरेर विभेद अन्त गर्नुपर्ने बताए । जातीयताको नभई क्षमताको आधारमा समाज अगाडि बढ्नुपर्ने उनको भनाई थियो । घर्तीले वास्तविक पिडकको पहिचान गरी कारबाही अगाडि बढेको समेत जानकारी दिए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले देशबाट जातीय विभेद अन्त गर्नैपर्ने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए । धमलाले भने, देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भुमिका निभाउनुपर्छ । उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठाए ।
कार्यक्रममा पत्रकार महासंघका सचिव प्रेम विकले दलित समुदायलाई मात्र नभएर अन्य पछाडी परेका र अन्यायमा परेका सबैलाई राष्ट्रिय कलाकार संघले सहयोग गर्नुपर्ने बताए । उनले समाजका आवश्यकता अनुसार कलाकार संघ चल्न पनि सुझाव दिए ।
रकम हस्तान्तरण कार्यक्रममा अमृत खातीले स्वागत भाषण गरेका थिए । कार्यक्रममा दोस्रो चरणको सहयोग कार्यक्रम अन्र्तगत पिडितको घर निर्माण वा पुर्नस्थापना र शालिक वा पार्क निर्माण गर्न पहल गर्ने पूर्वमन्त्री जितु नेपालले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा गायक तथा राष्ट्रिय कलाकार समुहका अध्यक्ष एस. कुमारले रकम संकलनमा सहयोग गर्नुहुने अमेरिका, अष्ट्रेलिया, युके र अन्य स्थानमा रहेको सबैलाई धन्यवाद दिएका थिए । सहयोग संकलन अभियानका संयोजक समेत रहेका एस कुमारले सोती घटनालाई दुःखद भने । उनले यो सहयोग ठुलो नभएपनि मनदेखि विभेदविरुद्ध ऐक्यवद्धता भएको बताए । पीडितहरुको घाउमा मलम लगाउन यसले मद्दत गर्ने आशा व्यक्त गरे । कार्यक्रमको उद्घोेषण कृष्ण गजमेरले गरेका थिए ।-Photo: Reportersnepal
