राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

अ+
अ
अ-

राष्ट्रिय सभाले आउँदो फागुनमा कुल सदस्य सङ्ख्याको एक तिहाई नयाँ अनुहार पाउँदैछ । दुई वर्षे कार्यकाल सकेर एक तिहाई सदस्य बाहिरिँदै गर्दा बाँकी कार्यकालका लागि नयाँ १८ जनाले राष्ट्रिय सभामा प्रवेशको मौका पाउँदैछन् ।  

राष्ट्रिय सभा चुनाव आउँदो माघ ९ गतेका लागि तोकिएको छ । आइतबार उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय सभा चुनावका लागि ११ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

दल दर्ता गराउनेमा सत्तारुढ नेकपासहित प्रमुख प्रतिपक्षी काङ्ग्रेस, समाजवादी पार्टी, राजपा, नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राप्रपा र राप्रपा (संयुक्त) छन् ।

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

राष्ट्रिय सभामा सातवटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरि कुल १८ जना चुनावमार्फत छानिने छन् ।