रोकिएन रोनाल्डोको आतङ्क

अ+
अ
अ-

मेघौली । विगत ८ दिनदेखि मेघौलीवासीले भोग्दै आएको दिनभरि नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने रोनाल्डो र गोविन्दे हात्तीको आतङ्क फेरि सुरू भएको छ ।

भरतपुर २८, अन्दौलीमा वितण्डा मच्चाएको रोनाल्डो हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती विज्ञसहितको टोलीले १३ गते राति डाट गरेपछि एकदिन हराएको रोनाल्डो हात्तीले सोमबारदेखि फर्केर आई पुनः आतङ्क मच्चाएको हो ।

सुरक्षामा खटिएको टोलीले सोमबार राति प्लास्टिक फायर गर्दा पनि नटेरेर रोनाल्डो हात्तीले स्थानीय बासिन्दाहरुको केराखेती नोक्सान गरिरहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए ।

विगत ८ दिनदेखि भरतपुर २८, अन्दौली टोलका तीन किसानहरु शशिधर सापकोटा, लोकनाथ सापकोटा र चक्रपाणि सापकोटाको करिब आठ बिघामा लगाइएको केराखेती सखाप पारेको छ भने भरतपुर २८, अन्दौलीकै प्रमिला बोटे, खडानन्द सापकोटा, जगनाथ आचार्य र शक्तिप्रसाद सापकोटाको भकारीमा रहेको धानसमेत खाइदिएको पीडित लोकनाथ सापकोटाले बताए ।